गाउँ सहर

प्रहरीद्वारा ११ विघामा लगाइएको गाँजा खेती नष्ट

वीरगञ्ज  । प्रहरीले पर्साको ठोरी गाउँपालिकामा ११ विघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीको कमाण्डमा खटिएको टोलीले एघार विघा खेतमा अवैध रूपमा लगाएको दुई लाख २० हजार गाँजाका बोट फडानी गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

गाँजा खेती गर्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको तथा उनीहरुलाई कानुन बमोजिम कारबाही हुने खनालले बताएका छन्  ।

 

 

गाउँ सहर संवाददाता