पूर्वाधार

होङ्शी सिमेन्टले ३० मेगावाट विद्युत् खपत गर्‍याे, अझै थप ५० मेगावाट विद्युत् चाहिने

काठमाडौं । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको हो । प्रसारणलाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।

प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल,प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारणलाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ ।  

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत् दिइएको प्राधिकरणले जनाएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत् आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको बताए ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत् आपूर्ति दिइएको प्राधिकरणले जनाएको छ ।

२२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको छ । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत