गाउँ सहर

आजदेखि जनगणना सुरु, घरघरमा आउनेछन् गणक

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ बिहीबार (आज) देखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । उनका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।

“जनगणनामा लिएका तथ्याङ्क सबै गोप्य रहन्छ”, विभागका महानिर्देशक श्रेष्ठले भने, “जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिनुपर्छ ।” यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी जनगणनाको सबै तयारी पूरा भएकाले बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणना गर्ने विभागले जनाइएको छ ।

विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । सोही स्थानमा गणक जान नसके स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकाल्ने तयारी विभागले गरेकाे छ ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । जनगणनाको पूरै विवरण आउन छ देखि नौ महिना लाग्नेछ । यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । जगनणनाबाट वडाभित्र भएको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहुँच वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाको विवरण आउनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत