निर्माण

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरु हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरुलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।

त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनर्निर्माणलाई अगाडि लैजानुपर्ने बताए । हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको जोड थियो ।

समितिका सभापति कल्याणी कुमारी खड्काले बाँकी पुनर्निर्माणका कार्यहरु अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनेर सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताउँदै समयमै सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयहरुलाई समितिका तर्फबाट निर्देशन दिइन् ।

सांसद गणेश कुमार पहाडीले विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय कार्यहरु अझै पनि अलपत्र रहेको दृष्टान्त राख्दै पुनर्निर्माणका बाँकी कार्यहरु त्यस्तो हुन नदिन मन्त्रालयहरुको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकरात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताए ।

सांसद आशा कुमारी वि.क.ले मन्त्रालयहरुले प्राविधिकहरु करारमा राख्दा पुनर्निर्माणमा संलग्न भएर उत्कृष्ट कार्य गरेकाहरुलाई प्राथमिकता दिन सुझाव दिइन् । सांसद यज्ञराज सुनुवारले रहरलाग्दा भौतिक संरचनाहरु बनेको उल्लेख गर्दै गुम्बा पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद गजेन्द्र बहादुर महतले स्थानीय तहमा हस्तान्तरणको मोडालिटीबारे प्रष्ट हुनुपर्ने बताए । त्यस्तै, सांसद राजेन्द्र कुमार राईले हस्तान्तरण भएर आएका कार्यहरुको उत्कृष्ट पुनर्निर्माण गरेर हाइहाइ प्राप्त गर्ने अवसर मन्त्रालयहरुलाई आएको बताए । अन्तर मन्त्रालय तथा निकायबीच चुस्त समन्वय हुनुपर्नेमा सांसद विना कुमारी श्रेष्ठको जोड थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिंदै त्यसबाट पुनर्निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने कार्यहरु संचालन गर्ने आधार बनेको बताए ।

छलफलमा अर्थ सचिव मधुकमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत् पुनर्निर्माणको बजेट चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षहरुजस्तै पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि प्राथमिकता दिइएको बताए ।

शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव प्रसाद कोइराला, शहरी विकास सचिव डा.रमेश प्रसाद सिंहले हस्तान्तरण भएर आएका कार्यहरु प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठा, शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाई (आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कार्यहरुको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिंदै पुनर्निर्माणका कार्यलाई प्राथमिकता दिइने बताए ।

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारी, विभिन्न मन्त्रालयका सहसचिव लगायतका अधिकारीहरुको पनि उपस्थिति थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत