कला

‘खान पुगोस् दिन पुगोस्’

लघुकथाः

बिवाह भएको एक वर्ष जति भएको थियो । मुख हेराईदेखि माईतमावली सम्मका दक्षिणा जम्मा गरेर राखेकी थिएँ । सोचे एउटा सुनको बाला बनाएर लाउन पर्यो । सुनारकोमा गएँ  बाला बनाउन । दुईहजार पैसो पुगेन । बुढालाई बल्लतल्ल सुनाए । बुढाले भने, "दशैँको मुखमा खर्च थपिने भयो विचार गरौंला ।"

घटस्थापनाको अघिल्लो दिन दुइहजार थपेर एक तोलाको बाला बन्यो । आफ्नो हातमा लगाएको सुनको बाला हेरेर आफैँ मख्ख परे । भोलिपल्ट बिहानै गाडी चढेर घर गईयो । बेलुकी बुढाले कोठामा आएर भने, "तिम्रो हातको बाला आमालाई ज्यादै मन पर्यो रे अहिले आमालाई देउ । म तिमीलाई पछि बनाईदिउँला ।"

मनमा औँसी लाग्यो तर मुख चन्द्रमा बनाएर बाला खोलेर दिएँ । जीवनमा कयौं उतारचढाव आए । कहिले गहना बनाएर लाईयो । कहिले गहना बेचेर खाइयो । वर्षौं पछि घटस्थापना आउन  दुइचार दिन बाँकी थियो । शिक्षकको जागिर चौमासिक तलब बुझेँ । सोचेँ एउटा सुनको बाला बनाएर लाउन पर्यो । गएँ सुनारकोमा । मनपरेको बाला किनेर लगाएँ । घर आएँ  ।

साझँ छोरा बुहारी समेत खाना खाँदै थियौँ । बुहारीले भनिन्, "आहा ! कति राम्रो बाला मामु कहिले बनाईसेको र ?"

"आजै बनाएको राम्रो  छ र ?"

"राम्रो रहेछ ।" बुहारीले भनिन् ।

भोलिपल्ट, छोराले भन्यो, "मामु हजुरकी बुहारीलाई ज्यादै मन पर्यो रे, हजुरको बाला अहिले बुहारीलाई दिनुस् । हजुरलाई म पछि बनाईदिउँला नि ।"

तुरुन्तै खोलेर छोराको हातमा राखिदिएँ । मनमा जमरे औँसी लाग्यो । उत्तिनै खेर बाको आशिर्वाद सम्झिएँ र मुहारमा पूर्णिमाको जुन झुल्कियो । "खान पुगोस्, दिन पुगोस् ।"

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत