राजनीति

महाधिवेशनपछि जनतामाझ स्थापित हुने, राजसंस्था र हिन्दू राष्ट्रकाे बलमा देशव्यापी लहर ल्याउने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रुपमा प्रस्तुत भएर राप्रपा जनतामाझ स्थापित हुने दावी गरेका छन् ।

‘एकत्रित राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर, आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ । जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरुको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको, अब राप्रपा मात्र हो,’ अध्यक्ष राणाले राप्रपाको सोमबार सम्पन्न कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने ।

‘महाधिवेशनबाट प्राप्त उर्जाबाट खरो रुपमा प्रस्तुत भएर, एक ढिक्का राप्रपा जनतामाझ स्थापित हुने छ,’ राणाले जोड दिएर भने ।

पार्टी एकतालाई लिएर कार्यकर्तामाझ चिन्ता देखिए पनि, महाधिवेशनमा हुने प्रतिष्पर्धाकै कारण राप्रपा नफुट्ने अध्यक्ष राणाले दावी गरे ।

‘महाधिवेशनमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, प्रजातन्त्र भनेकै प्रतिष्पर्धा हो,’ उनले भने । ‘अध्यक्ष पदमा दुई, चार, पाँच, जति जना उठ्छन्, सबै उम्मेद्वारसँग चुनाव हारे पनि पार्टी नफुटाउने प्रतिवद्धता माग गर्नुहोस् । नभए कार्यकर्ता तहबाट उम्मेद्वारी स्वीकार नगर्नुहोस् । प्रजातान्त्रिक मान्यता अनुरुप हार, जित स्वीकार गरेपछि, पार्टी फुट्ने कुनै गुञ्जाइसै रहन्न ।’

कम्युनिष्टहरु टुटफुटबाट गुज्रिरहेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष राणाले भने, ‘नेपाली कांग्रेसले बाटो खुला देखेको होला । तर, एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । गठबन्धनका सबै दलका सबै सांसदलाई मन्त्री चाहिएको छ । त्यसैले हेर्दै जाउँ, नेपाली कांग्रेसको हालको हाई हाई, अबको चार, पाँच महिनामै फिक्का साबित हुनेछ ।’

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दू राष्ट्रको बलमा राप्रपाले देशव्यापी लहर ल्याउने दावी गरेका छन् ।

‘राप्रपा संसद अन्तर्गतको राजसंस्था र वैदिक सनातन हिन्दू राष्ट्रमा विश्वास गर्ने दल हो । यी मान्यताका पक्षमा एक समय निकै राम्रो वातावरण बनीसकेको थियो । संसद विघटनको घटनाले देश र जनताको ध्यान अन्यत्र मोड्यो । तर त्यो राजनीतिक संभावना, आवश्यकता अझ पनि कायम छ,’ अध्यक्ष लोहनीले सोमबार सम्पन्न राप्रपाको कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने ।

राष्ट्रिय आवश्यकताका आधारमा, राप्रपाले जनलहर ल्याउने, जनताको समर्थन प्राप्त हुने प्रशस्त आधार कायम रहेको उनको दावी थियो ।

‘सडकमा आउँदा राप्रपाले जनसमर्थन प्राप्त गरेकै हो । स्वतःस्फूर्त प्राप्त समर्थनलाई कम गर्न आंकलन गर्न मिल्दैन । वातावरण मिलाए, अहिले पनि जनताले साथ दिनेछन्, त्यो संभावना अझ पनि कायमै छ,’ लोहनीले भने ।

राप्रपा कुनै पनि दलको पुच्छर भएर होइन, आफ्नो स्वाभीमानमा अडेर अघि बढ्ने उनले बताए । ‘आवश्यकता अनुरुप चुनावी गठबन्धन गर्नु नै पर्दछ । तर गठबन्धन गरेकै आधारमा कुनै दलको पिछलग्गू भएको भनेर सोच्नु हुँदैन,’ वैठकलाई सम्बोधन गर्दै लोहनीले भने ।

राप्रपा अब फुट्दैन भन्दै उनले भने, ‘महाधिवेशन पछि राप्रपा दुई फ्याक हुन्छ कि भन्ने आशंका होला, निश्चिन्त रहे हुन्छ, अब पार्टी विभाजन हुँदैन । हामीलाई त्यो सुविधा प्राप्त छैन ।’

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत