प्रविधि

नेपाल टेलिकमकाे समर अफर अन्तर्गत थप सुविधा

काठमाडाैँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ ।

नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु. ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफर अन्तर्गतको “बोनस अन रिचार्ज” अफरलाई भने हटाएको छ । 

टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखिएको छ । उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ । 

कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ । अब प्रिपेडमा रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ । त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

सीडीएमएबाट जीएसएममा रुपान्तरण हुने ग्राहकका लागि सुविधा
 
नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजना अन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनु पर्नेछ ।  

सीडीएमए मोबाइल (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जिएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइने छ । यसैगरी सीडीएमए फिक्स्ड (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइने कम्पनीले बताएकाे छ । 

सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निःशुल्क रुपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्नेछन् । आगामी पुस महिनासम्ममा जिएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेड ग्राहकहरुलाई मासिक रेन्टल शुल्क छुट दिइएको उसले बताएकाे छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत