खेल

प्रदेश खेलकुदको लोगो सार्वजनिक सँगै रणनीतिक कार्ययोजना तय

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ ।

जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो । सार्वजनिक गरिएको लोगोमा मुल रुपमा ४ वटा विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिदैं गरेको खेलाडी, राष्ट्रको गौरवको रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ती र समृद्धीको प्रतिक निलो तथा सेतो रङ्ग सँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरी प्रदेश खेलकुद परिषदको लोगो परिकल्पना गरिएको छ ।

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकुद परिषदले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो । जसको सदस्यमा केशव पाठक र निर्मला बराल रहेका थिए ।

प्रदेश खेलकुदका सदस्य सचिब तेज बहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गरेका हुन । सो अवसरमा उनले रणनितिक कार्ययोजना तयबारे जानकारी दिंदै सदस्य सचिव गुरुङले प्रदेश खेलकुदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’ सहित चार वटा रणनितिक आधारहरु तय गरेको बताए । प्रदेश खेलकुदले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जिवनशैली, खेल सबैको नैसर्गिक अधिकार, शुसासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मुलभूतरुपमा अघि सारेको गुरुङले बताए ।

११ वटै जिल्ला खेलकुदका अध्यक्ष सहित पदाधिकारी र प्रदेश खेलकुदका सदस्यहरुको सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षहरुले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्सहान तथा पुरस्कार, कार्यालय व्यवस्थापन, र अर्थिक वर्षको बजेट निर्माण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै भिजनरी इन्टनेशनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशको रुपमा रहेको बताउँदै प्रदेशलाई खेलकुदको राजधानीका रुपमा अगाडि बढाउन प्रदेश खेलकुदले बोकेको सपना चाँडै नै साकार हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, प्रदेशका यूवा तथा खेलकुद मन्त्रीका सल्लाहकार ध्वज कुमार गुरुङ, परिषदका सदस्य दिल बहादुर गुरुङ, विभिन्न जिल्लाका अध्यक्षहरुले समेत आ–आफ्ना धारणा अघि सारेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत