स्वास्थ्य

औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती

सुदूरपश्चिम । सभ्रान्त र हुने खाने परिवारका शिक्षित व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ । सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन नसकेको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग एक मुख्य जनस्वास्थ्य समस्याका रुपमा देखिएको बताए । ‘‘तराईको अर्को जिल्ला कञ्चनपुरमा आठौं पटकसम्म औषधि खुवाउँदा त्यो जिल्ला निवारण उन्मुख छ, पहाडी क्षेत्रका अन्य सात जिल्लामा निवारण भइसक्यो, धामीले भने,“औषधि खानुपर्ने जनसङ्ख्याले नखाइदिँदा निवारण गर्न समस्या भइरहेको छ ।’’

यो रोगको निवारण हुन नसकेपछि कैलालीमा यही चैत २० देखि ३० गतेसम्म नवौंपटक हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गरिँदैछ । यसअघि कैलाली जिल्लामा आठ पटकसम्म यो रोगविरुद्ध औषधि खुवाइएको थियो । चैत २० गतेवाट शुरु हुने नवौंपटकको अभियानअन्तर्गत जिल्लाका सबै १३ पालिकामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् आठ लाख ५१ हजार जनसङ्ख्यालाई यो रोगविरुद्धको औषधिको चक्की खुवाइदैँछ ।

प्रदेशका पहाडी क्षेत्रका जिल्लामा छ पटकसम्म यो औषधि खुवाउँदा रोग निवारण भइसकेको जनाइएको छ ।

सङ्क्रमणबाट बढी प्रभावित जिल्लाका रुपमा देखिएको कैलालीमा कूल जनसङ्ख्याको झण्डै छ प्रतिशतमा यो रोगको सङ्क्रमण रहेको तथ्याङ्क छ । कूल जनसङ्ख्याको एक प्रतिशतभन्दा कम सङ्क्रमित फेला परेमा यो रोग निवारण भएको मानिन्छ ।

ग्रामीण क्षेत्रका बासिन्दाले यो औषधि खाने दर शहरी क्षेत्रको तुलनामा बढिरहेको बताइएको छ । दुई वर्ष उमेर माथिका, दीर्घ रोगी, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु कलेजो रोगी, मिर्गौला, छारेरोगीबाहेकका सबैले यो रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ ।

अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ । नेपालमा आगामी सन् २०२८ सम्म यो रोग निवारण गरिसक्ने लक्ष्य राखिएको छ । यसअघि नेपालमा सन् २०२० सम्म यो रोगको निवारण गरिसक्ने लक्ष्य राखिएको भएपनि सबै जिल्लामा निवारण हुन नसक्दा अवधि थपिएको हो ।

नेपालका तराईका जिल्लामा यो रोगको बढी समस्या छ । यो रोग लागेमा हातखुट्टा र ग्रन्थी सुनिने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायतका समस्या भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्दछ । क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोगको सङ्क्रमण देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिको परजीविको आयु वर्षौंसम्म रहने र यसैको कारण मानिसमा हात्तीपाइले रोग लाग्ने जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत