समाज

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सङ्खुवासभा । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिएका छन् ।

 खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो ।  ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् ।  राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

राई श्रीमान श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको  प्रहरीले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत