विद्युत

स्थानीय उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै 

बेनी  । स्थानीय उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेसन तयार भएर परीक्षण सफल भएसँगै यस क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। सब स्टेसन र प्रसारण लाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गएको थियो ।

नेपाल विद्युत् प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेसन सञ्चालनमा ल्याएपछि यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिन थालेको हो । 

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना निर्माण सकिएको एक वर्षपछि र मुस्ताङमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्माण सकिएको तीन वर्षपछि दाना सब–स्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताएका छन् ।

निर्माणको अन्तिम चरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि यसै सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाले निर्माण सम्पन्न गरी परीक्षण उत्पादनको तयारी थालेको छ । विद्युत् उत्पादन भए पनि समयमै प्रसारण लाइन निर्माण नहुँदा एक वर्षसम्म विद्युत् खेर गएको घलेम्दी हाइड्रोपावरका अध्यक्ष किशोर सुवेदीले बताए ।

प्रसारण लाइन निर्माण भएपछि यस क्षेत्रमा जलविद्युत् विकासको ढोका खुलेको छ । यस क्षेत्रमा १०९ मेगावाट क्षमताको निलगिरी जलविद्युत् आयोजना निर्माणको चरणमा छ । प्रसारण लाइन निर्माण भएसँगै आयोजना एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।

४० मेगावाट क्षमताका रघुगङ्गा जलविद्युत् आयोजनाले पनि निर्माणलाई तीव्रता दिएको छ । चिनियाँ लगानीमा निर्माण हुने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणस्थल पनि नारच्याङ पर्दछ । १२ मेगावाट क्षमताको मिस्त्री खोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले पनि निर्माण सुरु गर्ने तयारी गरेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत