निर्माण

झोलुङ्गे पुल धमाधम बन्दै

बागलुङ । बन्दाबन्दीका कारण अधुरा रहेका बागलुङका १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । लामो समयको बन्दाबन्दीका कारण निर्माणाधीन २५ वटा झोलुङ्गे पुलमध्ये १५ वटाको निर्माण कार्य सकिएको छ ।

गलकोट नगरपालिका–१ को कटौजेघाट, बहुमाराघाट, वडा नम्बर २ को मसानघाट, वडा नम्बर ७ को सप्ताहघाट, बानियाँ आँगाखेतघाट, ढोरपाटन नगरपालिका–४ को भुङ्गाघाट, नर्जलीघाट, वडा नम्बर ५ को लान्द्रीघाट, जैमिनी नगरपालिका–७ को दरिगौँडाघाट, साँघुको मुखघाट, काठेखोला गाउँपालिका–२ को चिप्लेचोरघाट, निसी गाउँपालिका–७ को कुतखोलाघाट, वडा नम्बर ६ को चुसीखोलाघाट, सेरावाङटुङ्गाघाट, चरिचारघाटको पुल निर्माण गरिएको हो ।

पुल निर्माणको स्थानीय साझेदारी संस्था भीमापोखरा युवा क्लब (वीवाईसी) बागलुङको झोलुङ्गे पुल निर्माण फोकलपर्सन प्रेम केसीका अनुसार निसीखोला गाउँपालिकामा तीन, ढोरपाटन नगरपालिकामा चार, बडिगाड गाउँपालिमा एक, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा तीनवटा पुल निर्माणाधीन अवस्थामा छन् ।

चालू आर्थिक वर्षमा निर्माण हुने गरी बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा सात, ढोरपाटन नगरपालिकामा सात र काठेखोला गाउँपालिमा तीनवटा झोलुङ्गे पुलको सर्भे गरिएको छ । गत वर्ष कारोना त्रासका कारण जनशक्ति परिचालन तथा सामग्री ढुवानीमा समस्या हुँदा ३० मध्ये २५ पुलको निर्माण कार्य अपूरो भएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छन् । नेपाल सरकार र स्विस सरकार बीचको सम्झौताअनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गेपुल सहयोग एकाइ (टीबीएसयू) र पीटीएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।

खोलामा पुल निर्माण भएपछि प्रभावित क्षेत्रका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । “बर्खामा खोला ठूलो हुँदा आवतजावत गर्न कठिन थियो,” चिप्लेचौरघाट पुलका स्थानीय विष्णु भण्डारीले भने, “हिउँदलाई छोटो, बर्खालाई सुरक्षित भएको छ । ” सङ्घीय सरकारले पुल निर्माणका लागि ससर्त बजेट उपलब्ध गराउँछ ।

कुल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ९२ प्रतिशत, स्थानीय तहको छ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिएका छन् । जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भइरहेको छ । जिल्लाभर रहेका ४३० पुलमध्ये १९२ पुनस्र्थापना, ३० बृहत् मर्मत, १० संरक्षण र २५ वटा प्रयोग विहीन अवस्थामा रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत