अन्तर्वार्ता

‘प्रहरीले अनुसन्धान गर्ने क्रममा पार्टी, ओहदा हेर्ने भन्ने नै हुन्न नि, नत्र त कसरी न्याय भयाे र ?’

कानूनअनुसार दिएको जिम्मेवारीभित्र रहेर शान्तिसुरक्षा कायम राख्नु प्रहरीकाे दायित्व र कर्तव्य नै हाे । प्रहरीले आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नका लागि गृह मन्त्रालयको मातहतमा रहेर काम गर्ने गर्दछ । एक वर्षअघि रामेछापमा जिल्ला प्रहरी कार्यालय प्रमुखकाे रूपमा आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठक सरूवा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सरूवा भएका डिएसपी पाठकले जिल्लामा रहँदा आपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने, ट्राफिक समस्या व्यवस्थापन गर्ने, महिला हिँसा न्यूनिकरण, भ्रष्टाचार तथा आर्थिक अनियमितता विरुद्ध शून्य सहनशीलता अख्तियार गर्ने कार्यमा सक्रिय रहे । उनै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक बसन्त पाठकसँग गाउँसहर डट कमले सरूवा हुनु केही घण्टाअघि रामेछाप बसाइकाे एक वर्षे अबधिमा भएका शान्ति सुरक्षा र अन्य गतिविधिसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश:

रामेछापको प्रहरी प्रमुख भएर आउनुभएको थियाे सरूवा भएर आजै जाँदै हुनुहुन्छ कस्ताे लागिरहेकाे छ ?

पहिलाे कुराे त राज्यकाे एउटा अभिन्न अंगकाे कर्मचारीका रूपमा काम गर्ने मान्छे सरूवा-बढुवा हुनु नियमित प्रक्रिया हाे । राज्यले जहाँ खटाउँछ त्यहीँ जाने हाे । दाेस्राे कुराे, कस्ताे लागिरहेकाे छ भन्ने प्रश्नमा प्रहरीकाे मुख्य जिम्मेवारी जहाँ गएपनि शान्ति सुरक्षा कायम गर्ने र अपराधकाे नियन्त्रण तथा अनुसन्धान गर्ने हाे । म रामेछापमा सुरक्षा प्रमुखकाे रूपमा रहँदा पनि शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कर्तव्य निष्पक्ष र कर्तव्यनिष्ठ भएर गरेँ भन्ने लाग्छ । मेराे बसाइकाे अवधिभित्र भएगरेका कामकाे मूल्याँकन मैलेभन्दा पनि जिल्लाबासीले गर्ने कुरा हाे । यस अवधिमा जिल्लामा रहँदा पाएकाे माया, सदभाव, सहयाेग, सुझाव र प्रतिक्रियाहरू मेरा लागि प्रेरणादायी र सधैं सम्झनायाेग्य रहनेछन् । म सरूवा भएपनि कुनै न कुनै रूपमा याे भूगाेलसँग मेराे सम्बन्ध प्रगाढ रूपमा जाेडिनै रहनेछ । 

जिल्लामा प्रहरी प्रमुखकाे रूपमा रामेछाप आएदेखि फर्कनुअघिकाे एक वर्षे अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ? 

समग्रमा भन्नुपर्दा हरेक प्रहरीकाे प्रमुख कर्तव्य भनेकै शान्ति सुरक्षा कायम राख्नु, अपराधकाे नियन्त्रण र अनुसन्धान गर्नु हाे । म रामेछापकाे प्रहरी प्रमुख भएर आएपछि आपराधिक घटना हुन नदिने र जोसुकै व्यक्तिले कानूनको उलङ्घन गरी कुनै कसुरजन्य अपराध गरेको छ भने त्यस्तो व्यक्तिलाई कानूनबमोजिम सजाय दिलाउने काममा प्रतिवद्ध भएर काम गरेँ । समाजका कुनै पनि प्रकृतिका घटनाहरू साना-ठूला भन्ने हुन्न । यस अवधिमा भएका विभिन्न घटनाहरूलाई कानूनी प्रक्रिया पूरा गरेर टुंगाेमा पुर्‍याएका छाैँ । शान्ति सुरक्षाकाे सवालमा हामी सकेसम्म कुनै कमी कमजाेरी हुन नदिन सक्रिय रह्याैँ । हरेक घटनामा पीडितले न्याय पाउनुपर्छ भन्ने मान्यताबाट प्रहरीले काम गरेकाे छ । 

सेवामुखी, ब्यावसायिक, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी प्रहरी सेवाको प्रत्याभूति दिने, सेवाग्राहीलाई छिटो, सरल र सहजरुपमा प्रहरी सेवा दिने, समुदायसँग सहकार्य, जनचेतनामुलक कार्यक्रम गर्ने, लागुऔषध रोकथाम र नियन्त्रण, फरार अभियुक्तको खोजतलाश र फैसला कार्यान्वयन, संगठित अपराध, गुण्डागर्दी, जुवातास नियन्त्रण, चोरी निकासी र पैठारी नियन्त्रण मानव अधिकारको संरक्षण र प्रवद्र्धन तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरेँ ।

कतिपय घटनामा प्रहरीले उजूरी नलिने, दुवै पक्षलाई प्रहरी कार्यालयमै कागज गरेर मिलाउने, घटनाकाे फितलाे अनुसन्धान गरेर कमजाेर पार्ने पनि हुन्छन् नि ? 

प्रहरीले पीडितकाे उजूरी नलिने भन्ने नै हुँदैन । बरू पछिल्ला समयमा सामाजिक हिँसालगायत विभिन्न घटनामा उजूरी दिने क्रम बढेकाे छ । वास्तविक पीडितकाे उजूरी हामीले लिन्छाैँ र कानूनी प्रक्रियामा अघि बढाउँछाैँ । उजूरी परिसकेपछि त्यसकाे छानबिन र अनुसन्धान हुन्छ । हामीले महिला, बालबालिका, जेष्ठ नागरिकप्रति हुने विभिन्न प्रकारकाे हिँसा न्यूनिकरणकाे लागि सचेतना कार्यक्रम पनि गरेका छाैँ । त्यसले केही न केही सहयाेग पुगेकाे छ । टेलिफाेनबाट आएका उजूरी र गुनासका समेत हामीले सम्बाेधन गर्ने गरेका छाैं ।प्रहरीका कमी कमजाेरी र प्रहरीप्रतिकाे कुनै गुनासाे भए प्रत्येक पालिकामा राखिएकाे उजूरी पेटिकामार्फत गुनासाे, सुझाव र प्रतिक्रियाहरू दिने व्यवस्था पनि गरिएकाे छ ।

घटना लुकाउने, दबाउने, फितलाे पार्ने वा पीडककाे पक्षमा प्रहरीले काम गर्ने भन्ने प्रश्नै आउँदैन । सामान्य किसिमका घटनाहरू जुन स्थानीय न्यायिक समितिबाट पनि मिल्न सक्ने अबस्था छ र पीडित पक्ष राजी छ भने मिल्छ हाेइन भने मिलापत्र भन्ने हुन्न । कहिलेकाहीँ कुनै घटनामा मुद्दा नचलाइदिनु भनेर अनुराेध पनि आउने गर्दछन् तर जघन्य अपराधमा दबाब र अनुराेधले काम गर्ने कुरा हुन्न र हामीले पनि गरेनाैँ ।  

सडक दुर्घटना, ट्राफिक व्यवस्थापनमा जिल्लाकाे अबस्था कस्ताे छ ?

सार्वजनिक सवारी साधनका चालक सहचालकलाई जिम्मेवार बनाउन ट्राफिक नियमलाई पालना गराउने, मन्थली बजारमा सवारी साधनकाे गति निर्धारण, ताेकिएकाे भन्दा बढि भाडा असुल्ने र नियम विपरित कार्य गर्ने चालकसहित सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने काम नियमित नै हुने कुरा हुन् । मापसे र सवारी अनुमतिपत्रकाे दैनिक रूपमा जाँच गर्ने काम भइरहेकाे छ । यसका साथै घुम्ती सडकहरूमा विभिन्न खालका ट्राफिक संकेतहरू राखिएकाे छ । स्थानीय सरकारसँगकाे समन्वयमा मन्थली नगरपालिकाकाे बजार क्षेत्र र खाँडादेवी गाउँपालिकाकाे विभिन्न नाका तथा बजार क्षेत्रमा सीसी क्यामेराहरू राखेर अनुगमनकाे व्यवस्था मिलाइएकाे छ । नियम विपरित सवारी साधन चलाउनेहरूलाई सचेतना कक्षा दिने, ट्राफिक सचेतना कार्यक्रमहरू पनि चलाइएकाे छ । 

"समुदाय प्रहरी साझेदारी कार्यक्रम" ले प्रहरीलाई कस्ताे सहयाेग पुगेकाे पाइयाे ?  

"समुदाय प्रहरी साझेदारी कार्यक्रम" प्रहरी र समुदायका लागि एकदम राम्राे कार्यक्रम हाे । याे प्रहरी र नागरिकलाई जाेड्ने पुल नै साबित भएकाे छ । तर यस वर्ष भने काेभिडका कारणले यसकाे प्रभावकारीता अलि कम देखिएकाे महसुस भएकाे छ । स्थानीय सरकारकाे पनि सहभागिता र सहयाेगले गर्दा याे कार्यक्रम सफल छ । विद्यार्थीलाई प्रहरीकाे कामबारबाही तथा गतिविधिका बारेमा जानकारी हाेस् भनेर "प्रहरीसँग एक दिन" भन्ने कार्यक्रम पनि चलायाैँ । लागू औषध, साइबर क्राइम लगायत विषयहरूमा जानकारी दिने काम पनि गर्‍याैँ तर काेभिडकाे कारणले याे कार्यक्रम सबै विद्यालय र स्थानीय तहमा प्रभावकारी रूपमा सञ्चालन गर्न कठीननाइ भएकाे छ । अब प्रहरी प्रमुखकाे रूपमा मेराे आत्मिए साथी नवराज ढुंगाना आउनुभएकाे छ उहाँले उपयुक्त समयमा यस्ता कार्यक्रमहरू अघि बढाउनु नै हुनेछ । समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका थप रचनात्मक र प्रभावकारी भयाे भन्ने लाग्छ ।

यस अवधिमा कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने स्थानीय प्रशासन, स्थानीय सरकार, पत्रकार, शैक्षिक संस्था, सरकारी तथा गैह्र-सरकारी संघ-संस्थाहरू तथा आम रामेछापबासीहरूलाई धन्यवाद पनि दिन चाहन्छु साथै आगामी दिनहरूमा पनि यो सहकार्य कायमै राख्न सबैमा अनुरोध समेत गर्दछु ।

अब प्रहरीकै कुरा गराैँ, स्थानीय सरकारबाट कस्ताे सहयाेग पाउनुभयाे र प्रहरीका लागि आफ्नै भवनमा बस्ने वा आफ्नै कार्यालय भवनहरूकाे अबस्था के कस्ताे छ ?

स्थानीय सरकारकाे त सहयाेग रहेकै छ । यसमा दुईमतै छैन । प्रहरीकाे आफ्नै आवासकाे व्यवस्था भने सबैतिर भइसकेकाे अबस्था छैन । कतिपय स्थानहरूमा भवन निर्माण कार्य भइरहेकाे छ । कहिँ प्रक्रियामा छन् भने कतै स्थानीय सरकारले जग्गा उपलब्ध गराउने प्रक्रिया भइरहेकाे छ । कतिपय प्रहरी कार्यालहरूमा टिनले बारेर बस्नुपरिरहेकाे दयनीय अबस्था पनि छ । सकेसम्म व्यवस्थित बनाउने प्रक्रियामा सबै लागिपरेकाे अबस्था छ । प्रहरी कार्यालयहरू निर्माणमा प्रदेश सरकारकाे सहयाेग प्रशंसनीय छ । 

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ र नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का प्रकरणमा तपाइँ विवादमा पर्नुभयाे नि हाेइन ? 

विवादित भयाे र ? कुराे तपाइँले भनेजस्ताे हाेइन । कुराे के हाे भने उजूरी परेपछि प्रहरीले अनुसन्धानकाे क्रममा कसकाे मान्छे, कुन दलकाे नेता, कुन पद अथवा काे भन्ने भन्दा पनि बास्तविक घटना के हाे भन्ने कुराकाे अनुसन्धान गर्ने हाे । प्रहरीले अनुसन्धानमा त्यसमा न दल विशेषकाे कुरा आउँछ न पदकाे । यस घटना पनि भएकाे त्यति नै हाे ।  

गोकुलगंगा गाउँपालिका नामाडीमा भएको घटनामा संलग्न भएको दाबीसहित पीडित देवराज खड्काले प्रहरी कार्यालयमा किटानी जाहेर दिएपछि काजीबहादुर खड्कालगायतका व्यक्तिहरूलाई पक्राउ गर्न अदातलले पक्राउ पूर्जी जारी गरेकाे हो भने शरीर बन्धक, जबर्जस्ती करणी र ठगीको आरोपमामा किटानी जाहेरीपछि गाउँपालिका अध्यक्ष गाेबिन्द खड्का अदालतकाे अनुमतिमा पक्राउ परेका हुन् । यसमा विवाद हुनुपर्ने कुनै कारण नै छैन । काेही दाेषी वा निर्दाेष हाे भनेर प्रहरीले भन्ने हाेइन अदालतले पुष्टि गर्ने कुरा हाे । यसमा प्रहरी विवादित हुने भन्ने प्रश्नै आउँदैन । 

यही प्रकरण र अन्य अपराधका घटनाहरूमा पक्राउ परेका व्यक्तिहरू छुटाउन कत्तिकाे दबाब खेप्नु पर्‍यो ?

दबाब भन्दा पनि अनुराेध र आग्रह आउँछन् । तर प्रहरीले त्यस्ता अनुराेध र आग्रहभन्दा पनि कानून बमाेजिम कारबाही अगाडी बढाउने हाे । कानूनकाे नजरमा काेही ठूला र साना भन्ने हुदैन । कानून सबैका लागि बराबर हाे । प्रहरीले दबाब र प्रभावमा काम गर्ने हाेइन र गर्दैन पनि । त्यसमा प्रहरीले प्रमाणका आधारमा घटनाकाे अनुसन्धान गर्ने हाे । 

जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा आम नागरिक तथा राजनीतिक व्यक्तित्व लगायत जो कोहीले पनि जिज्ञाशा राख्नु स्वभाविकै हो तर जिज्ञाशालाई नै दवाबको रूपमा बुझ्ने भन्नु पनि हुन्न । अपराध रोकथाम नियन्त्रण एवं अनुसन्धान कार्य प्रहरीको लहडमा हुने नभई विधिसम्मत हुने गर्दछ । प्रहरीले पेशागत धर्म निभाउँदा बाह्रय दवाब र प्रभावको कुनै अर्थ रहँदैन किनकि प्रहरीले कानूनद्वारा निर्दिष्ट परीधि भन्दा बाहिर गई कुनै कार्य गरेमा दण्डनीय हुने गरी कानूनले नै उत्तरदायी र जवाफदेही बनाएको छ । प्रहरीको परीक्षा हरेक घडीमा नागरिकले गरिनै रहेका हुन्छन् । उक्त परीक्षामा हामिलाई फेल हुने सुविधा नै छैन ।

अन्त्यमा, रामेछापमा प्रहरी प्रमुखकाे रूपमा बसाइ कस्ताे रह्याे ?

रामेछापमा म प्रहरी प्रमुखकाे रूपमा रहँदा सबैतिरबाट सहयाेग नै रह्याे । विशेष गरि समुदाय, जनप्रतिनिधि, सञ्चारकर्मी मित्रहरू, प्रहरी सहकर्मीहरू, उद्याेगी-व्यवसायी, जिल्लाका विभिन्न सामाजिक संघ, संस्था, क्लब लगायत सबैकाे सदभाव, सहयाेग अतुलनीय नै रह्याे । अब आउनुभएका प्रहरी प्रमुखलाई पनि यस्तै सहयाेग हुने अपेक्षा गरेकाे छु । शान्ति सुरक्षा भन्ने विषय कुनै एक पक्षको मात्र सरोकारको विषय हुँदैन । शान्तिसुरक्षा र अपराधमुक्त समाजको निर्माण हामी सबैको साझा दायित्व हो । अपराध समाजमै हुन्छ, पीडित र पीडक समाजकै सदस्य हुन्छन तसर्थ सूचनाको पहिलो श्रोत पनि समाज नै हुन्छ यसर्थ कुनैपनि सम्भावित घटना वा घटित अपराधको सूचनाको अपेक्षा प्रहरीले पनि आम नागरिक तथा पेशागत व्यक्तिहरूबाट राख्दछ । मैले त्याे सहयाेग प्राप्त गरे । त्याे अमूल्य सहयाेगका लागि सम्पूर्ण जिल्लाबासीलाई तपाइँकाे यस गाउँ सहर डट कम अनलाइन न्यूज पाेर्टलमार्फत धन्यबादका साथसाथै हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

गाउँ सहर डेस्क

तपाईँको मत