समाज

टिकटकले लियो युवकको ज्यान

दाङ । टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर एक जना युवकको ज्यान गएको छ । झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जनाएका छन् ।  

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए।  साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए ।

पिकनिकमा  मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएको प्रहरीको भनाइ रहेको छ । पुलबाट खरेर  गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो। 

पिकनिक खाइसकेपछि साथीसँगै झोलुङ्गे पुलमा उनी टिकटक बनाउन भन्दै असावधानीपूर्वक सपोर्ट तारमा झुन्डिएको र पछि त्यहाँबाट आउन धेरै कोसिस गरेका थिए, तर आउन नसकेपछि हात गलेर त्यहीबाट बगरमा खसेका थिए । उनको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत