अर्थतन्त्र

काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालन

काठमाडौँ । काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको हो । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । 

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर  दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समय अनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा  १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले बताएको छ ।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्ने छन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणा अन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो ।

कोभिड महामारीका कारण उडान स्थगन हुँदा यात्रुको आवागमन चापमा परेको प्रभावको अध्ययन गरी उडान सङ्ख्यामा समायोजन गर्न सकिने र सोको सूचना दिइने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रुलाई अधिकतम सुविधासहित सङ्क्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको निगमले जनाएको छ ।

यो गन्तव्यको उडानमा यात्रुको मागबमोजिम निगम नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् र  भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत