समाज

सांस्कृतिक एकताको आधार बनेकाे लोकप्रिय छठ पर्व सामुहिक मनाउन काेराेनाले ‘ब्रेक’

छठ पर्वको मुख्य दिन अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ । छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । 

भोजपुरी र मैथिलीभाषी मधेशी समुदायले परम्परागत रूपमा मनाउँदै आएको छठपर्व हिजोआज पहाडी, मारवाडी र मुस्लिम समुदायका मानिसहरूले पनि मनाउन थालेका छन्। पहिला भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका तराईका जिल्लामा सीमित यो चारदिने पर्व केही वर्षदेखि काठमाडाैं उपत्यका र नेपालका अन्य स्थानमा पनि मनाउने गरिएको छ। अरूले पनि छठपर्व मनाउँदा समाजमा एकता र सद्भाव कायम राख्न सहयोग पुगेको धारणा संस्कृतिविद् र समाजशास्त्रीहरूको छ।

छठ पर्व नेपालको दक्षिणी र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण लोक पर्व हो। यो पर्वमा छटी माइको आराधना गरी पुत्र, पति र परिवारको कल्याणको र आरोग्यको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरुपमा सम्पन्न हुने गर्दछ । 

कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।  छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ । यसैले अघिल्ला वर्ष झैं यस वर्ष सबैजना सामुहिक रूपमा हर्साेल्लासकासाथ मनाइने छठमा काेराेनाले ब्रेक लगाइदिएकाे छ । 

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।  

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।     

तराईका बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड छ । कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। 

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।  यसैबीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । अमेरिका, मलेशिया, कुवेत, कतार आदि देशमा पनि यो पर्व विधिवत् मनाउने गरिएको छ। 

सांस्कृतिक एकताको आधार बनेको यस पर्वमा तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्था र निष्ठाका साथ छठ पर्व मनाउने चलन बढेको छ । केही वर्षदेखि छठ पर्व नेपालका मुख्य शहरहरू तथा पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । 

गाउँ सहर डेस्क

पशुपती पान्डे लेख्नुहुन्छ ५ मङ्सिर, २०७७ १:२५ pm

Jya.xati maiya

तपाईँको मत