दृष्‍टिकोण

समस्या अभिभावकमा कि बालबालिकामा ?

मानसिक स्वास्थ्य साक्षरताप्रतिको सचेतनाले बच्चाको मानसिक सुस्वास्थ्य  राम्रो बनाउनको लागि मनोवैज्ञानिक तरिकाको अभिभावकत्व, सीप प्रयोग  गरेर हुर्काउने र पढाउने कुरामा अभिभावकको चासो बढेको छ । नेपाल लगायत विकासशील देशमा आमा–बुवाले अभिभावकत्व सीप प्रयोग गरेर आफ्नो बच्चा सर्वाङ्गिण विकास गर्न आवश्यक सीपको लागि समय दिन थालेको पाईन्छ । 

अभिभावकले (आमा/बुवाले) आफ्ना बालबालिकालाई लालनपालन गर्ने तरिकाहरु आफ्नो परम्परा, रीतिरिवाज र उनिहरुको व्यक्तित्वमा निर्भर हुने गर्दछ । बालबालिकाको पालनपोषण कसरी गरिएको छ भन्ने कुराले बालकको व्यक्तित्व, उपलब्धि सामाजिक समायोजन, शैक्षिक उपलब्धि र मनोसामाजिक विकास निर्धारण गर्दछ ।

संसारभरीको अभिभावकत्वको प्रकृतिलाई चार भागमा बांडिएको छ । यी चार प्रकारको अभिभावकत्वलाई दुई मूख्यतत्व (१) अभिभावकले दर्शाउने लाडप्यार/न्यानोपन (२) अभिभावकद्वारा बालबालिकालाई गर्ने नियन्त्रण(अनुशासन) ले निर्धारण गर्ने गरिन्छ । 

१. अभिभावकले दर्शाउने न्यानोपन
अभिभावकहरुले बालबालिकालाई स्वीकृति, उत्तरदायित्व र अनुभूतिपूर्ण व्यवहार गर्ने गर्दछन् । जसलाई नेपाली समाजमा लाडप्यारले पनि सम्बोधन गर्ने गरिन्छ । बालबालिकालाई गर्ने लाडप्यार कतिको ठीक हुन्छ भन्ने सन्दर्भमा गरिएका विभिन्न अध्ययनहरुले के देखाएको छ भने उच्चस्तरको (अधिक) लाडप्यार आवश्यक पर्दछ । यस्तो वातावरणमा हुर्केका बालबालिकाहरु सजिलै सामाजिक समायोजन उच्च शैक्षिक उपलब्धि साथै आमाबुवा र मान्यजनलाई माया र सम्मान गर्ने  हुन्छन् । जुनबालबालिकाले निम्नस्तरको या बिल्कुलै लाडप्यार नपाइकन हुर्केका हुन्छन, पछि गएर आक्रामक  र निम्न शैक्षिक उपलब्धि प्राप्त गर्ने हुन्छन्  ।

२. अभिभावकको अनुशासन
अभिभावकले  बालबालिकाहरुलाई आवश्यकताअनुसार निर्धारण गरेका सीमा र नियमहरुको  पालना गराउनु पर्दछ । समाजमा समायोजित व्यक्तित्व हुन ठिक्कको उपयुक्तमात्रामा नियन्त्रण आवश्यक पर्दछ । 

अध्ययनअनुसार उच्च स्तरको नियम र अनुशासनमा र निम्न स्तरको अनुशासनको परिवेशमा हुर्केका बालबालिकाहरुमा पछि गएर उदासिनता, लागु औषधको प्रयोग गर्ने र समाजविरोधी क्रियाकलाप बालविज्याईं, वास्ता नगर्ने र पछि गएर आफ्नो केटाकेटीलाई ध्यान नदिने हुन्छन् ।  

बाउमरिन्डका अनुसार अभिभावकत्व चार प्रकारको हुन्छन् :-


१. निरंकुश अभिभावकत्व 
यस्ता अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई अत्याधिक कठिन नियमहरुको पालना र नियन्त्रणमा कुनै छुन नदिइकन हुर्काउने गर्दछन् । उच्चमात्राको नियन्त्रणमा कुनै छुन नदिइकन हुर्काउने गर्दछन् । उच्चमात्राको नियन्त्रण र निम्नस्तरको लाडप्यार देखाउने गर्दछन् । अभिभावकहरुले निर्धारण गरेका नियमको बारेमा बालबालिकाले सोधेमा मैले भनेकोले गर भन्ने उत्तर दिन्छन् । यस्ता अभिभावत्कहरुले उच्च उपलब्धिको अपेक्षा गर्दछन् तर बालबालिकाप्रति गर्नुपर्ने उत्तरदायित्व निर्वाह गर्दैनन् ।
२. अत्यधिक/बढि स्वतन्त्रत अभिभावकत्व
यस्ता अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई अत्याधिक (सीमा रहित) छुट  दिएका हुन्छन् र बालबालिकालाई निम्न स्तरको नियन्त्रणमा राखेका हुन्छन् ।
३. प्रजातान्त्रिक अभिभावकत्व
यसमा बालबालिकाका लागि आवश्यकताअनुसार लाडप्यार र आवश्यकताअनुसार नियन्त्रण पनि गरिन्छ । लाडप्यार र अनुशासनको बीचमा सन्तुलन मिलाएर व्यवहार गर्ने गरिन्छ ।
४. वेवास्ता/अस्विकृत, अभिभावकत्व  
यस्ता अभिभावकहरुले बालबालिकाप्रति कम लाडप्यार देखाउने गर्दछन् । यसमा बालबालिकालाई पीडा दिने र अस्विकृत गर्ने गर्दछन् भने वास्तानगर्ने हुन्छन् यस्तो परिवेशमा  हुर्केका बालबालिकाहरु बालविज्याईं, लागुऔषध, अपरिपक्त यौनिक क्रियाकलापमा सम्लग्न भएको देखिन्छ ।

समस्या अभिभावकमा कि बालबालिकामा ?
अभिभावकहरूले आफ्ना बालबालिकामा भएका समस्याहरुको  गुनासाहरुमा पढाइमा ध्यान नदिने, भनेको नमान्ने, धेरै चकचके र छुकछुके भएको, भिडियो गेम र टेलिभिजनमात्र हेर्ने, आक्रामक हुने, एक ठाउँमा शान्त भएर बस्न नसक्ने, कुनैपनि काम पुरा नगरी बिच्चैमा छोडने आदि पर्दछन् । बालबालिका अस्वाभाविक रूपमा चकचके भएको लागेमा त्यस्ता बालबालिकालाई समस्या छ कि भनेर मनोविज्ञसँग सल्लाह गरेर समस्या हो कि होइन भनेर निक्यौल गर्न सकिन्छ । अस्वाभाविक चकचकेपन र छुकछुकेको समस्याको स्तरमा पुगेमा मनोवैज्ञानिक भाषमा ‘अटेन्शन डिफिसिट हाइपएक्टिभ डिस्अर्डर’ को समस्या भनिन्छ ।  बालबालिका एकदमै धेरै अस्थिर हुने, कसैले भनेको नटेर्ने, अरूको ध्यान आकर्षित गर्न खोजिरहने खालको भए त्यसलाई अस्वाभाविक भन्न सकिन्छ । 

अभिभावकले आफ्नो बालबालिकालाई पर्याप्त समय नदिनुपनि समस्याको कारण हुन सक्छ जुन ग्रामीण समाजमा भन्दा सहरी समाजमा यो समस्या बढ्दो छ । अभिभावकहरू बालबालिकालाई उनीहरूले मागेका सम्पुर्ण कुराहरू  पुर्याइदिनाले पनि समस्या उत्पन्न हुन सक्छ । सानै उमेरदेखि विद्यालयमा राखेर अभिभावक र बालबालिकाबीचको सम्बन्धमा निकटता र आत्मीयको समस्या हुन्छ ।

खाना सम्वन्धि व्यवहार, जङ्क फुड, इन्टरनेटको अत्यधिक प्रयोग, बालबालिकालाई पहिला जस्तो शारीरिक रूपमा सक्रियहुने खेलमा प्रोत्साहन नगर्नु, प्रकृतिसँग निकट बनाउन नखोज्नु र मानिसहरूसँग घुलमिल हुन नसिकाउनुले पनि समस्या उत्पन्न गर्ने गर्दछ  । यसले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्दछ । 

बालबालिकामा यस्ता समस्या हुनुमा अभिभावकको भूमिका हुनसक्छ । अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएकोले यस्तो समस्या हुनसक्ने हुन्छ । यो समस्या बालबालिकाको नभई अभिभावक र शिक्षकले दिने वातावरणको महत्वपूर्ण भूमिका हुन्छ ।

तपाईंको बालबालिकामा सकारात्मक व्यवहारलाई कसरी विकास गर्ने ?

तपाईंको बच्चालाई ध्यानदिएर हेर्नुहोस, सकारात्मक र रचनात्मक दृष्टिकोण प्रायः उत्तम तरिका हो । बालबालिकाहरूले उनीहरूको व्यक्तिगत व्यक्तित्वको आदर र मूल्य देखाउने हेरचाह गर्ने वयस्कहरूसँग अन्तरक्रियाको माध्यमबाट सम्मान प्राप्त गर्दछन् । अभिभावकलाई पनि अभिभावकहरुले बालबालिकालाई स्वीकृति, उत्तरदायित्व र अनुभूतिपूर्ण व्यवहार गर्नेबारे परामर्श दिनुपर्ने  हुन्छ । 
 

बालबालिकाको आत्मविश्वास बढाउने तरिकाहरु निम्न प्रकार छन् 

  • बालबालिकाको असफलप्रयास भन्दा सफलताको कुरा बढि गर्ने 
  • बालबालिकालाई प्रयाप्त उत्साह दिनुहोस 
  • निस्वार्थ लाडप्यार गर्ने 
  • आत्मनिर्भर भएर काम गर्न दिने 
  • क्षमताभन्दा उच्च स्तरको आकांक्षा नराख्ने 
  • गलत कुरालाई औंल्याई दिने 
  • उसका गलत व्यवहारलाई वेवास्ता गर्ने 
  • उपस्थित हुने 
  • आदर्श व्यवहार प्रस्तुत गर्ने 
  • बालबालिकालाई उत्तरदायित्व बहन गर्न दिने
  • बालबालिकाका विचार, भावना र संवेगलाई महत्व दिने 
  • प्रतिभा विकास गर्न सहयोग गर्ने 
  • सीमा निर्धारण गर्ने

प्रभावकारी अभिभावकत्वका सीपहरु/निर्धारक

१. बालबालिकालाई महत्व दिने 
२. बालबालिकालाई सिकाउनुहोस् 
३. सत्य बोल्ने बानीको विकास 
४. उपयुक्त लाडप्यार र अनुशासनमा राख्ने 
५. अनुशासित बनाउने 
६. प्रोत्साहित गर्ने 
७. छुटकारा नदिने/गलतलाई दण्डित गर्नुहोस
८. उपयुक्त सञ्चार 
९. सकारात्मक हुनुुहोस्
१०. नियम निर्धारण गर्नुहोस् 
११. गल्ति सुधार्नुहोस्
१२. प्रशंसा गर्नुहोस्
१३. पारिवारिक जमघट
१४. पोषणयुक्त खाना 
१५.हिनताबोध हुनेगरी व्यवहार नगर्ने 
१६. राम्रो सुन्ने व्यक्ति बन्ने  
१७. रुचि देखाउनुहोस् ।

डा. ठगुन्ना मनोविद् एवम्  द स्कुल अफ साइकलोजी नेपालका अध्यक्ष हुन् ।

तपाईँको मत