गाउँ सहर

मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ

जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशका आठवटै जिल्लामा लोकआस्थाको महान् पर्व छठ मनाइँदैछ। छठ पर्वको दोस्रो दिन शनिबार व्रतालुले विधिपूर्वक खरना सम्पन्न गरेका छन्।

पञ्चमी तिथिका दिन व्रतालुले दिनभर उपवास बसेर साँझ गुड र दूधबाट तयार पारिएको खिर, फलफूललगायत प्रसाद चढाई पूजा गरेका छन्। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आइतबार षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ। रातभर जाग्राम बसेपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ व्रत समापन हुनेछ।

छठ पर्वलाई लक्षित गर्दै जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयलाई विशेष रूपमा सजाइएको छ। धनुषा समाचारदाताका अनुसार गङ्गासागर, धनुषसागर, अङ्गराजसर, रुक्मिणीसर र दशरथ तलाउलगायत दर्जनौँ पोखरी सरसफाइ गरी झकिझकाउ पारिएको छ।

पोखरीका डिलमा निर्माण गरिएका आकर्षक टेन्ट र झिलिमिली बत्तीले जनकपुरधामको वातावरण थप मनमोहक बनेको छ। छठ पर्वको दृश्यावलोकन गर्न देशका विभिन्न स्थानबाट जनकपुरधाम पुगेका पर्यटकका लागि व्यवस्थित लाइनको व्यवस्था गरिएको छ।

पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। छठको मुख्य दिन नजिकिँदै जाँदा जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न स्थानमा धार्मिक उत्साह र चहलपहल बढेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत