सडक/यातायात

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि

काठमाडौं । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

यातायात व्यवस्था विभागले मंगलबार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, यातायातसम्बद्ध मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी दसैंको यातायात व्यवस्थापनका लागि बुकिङ खुलाउने निर्णय गरेको हो।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिनेछ। लामो तथा मध्यम दूरीका सवारीसाधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिएको छ।

दसैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले नियमित रुटका सवारीसाधनसँगै रिजर्भ सवारी सञ्चालनलाई समेत व्यवस्थित गर्न रुट परमिट खुला गरिएको छ।

उनका अनुसार दसैंको समयमा यातायातमा चाप बढ्ने भएकाले ढुवानीका सवारीसाधनको सञ्चालनमा समेत केही व्यवस्थापन गरिएको छ। फूलपातीदेखि पूर्णिमासम्म ढुवानीका सवारीसाधनले अत्यावश्यक वस्तुलाई प्राथमिकताका साथ ढुवानी गर्ने निर्णय भएको छ।

फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीको ढुवानीलाई प्राथमिकता दिइनेछ। अन्य सामग्रीको ढुवानीलाई आवश्यकताअनुसार पछि सार्ने निर्णय भएको छ।

पोखरेलका अनुसार दसैंमा टिकट बिक्री तथा सवारीसाधन सञ्चालनका क्रममा यात्रुले भोग्ने समस्या तत्काल सम्बोधन गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हाल १५ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा छन्।

बसपार्क, कोटेश्वर, बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ। यस्ता कमिटीले सम्बन्धित क्षेत्रमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नेछन्।

टिकट नपाएको, तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी भएको वा यात्रुलाई अन्य कुनै समस्या परेको अवस्थामा सहायता कक्षमार्फत जानकारी लिने र आवश्यक कारबाही गर्ने व्यवस्था गरिएको छ।

महानिर्देशक पोखरेलले कुनै पनि किसिमका बिचौलियामार्फत कालोबजारी गर्न छुट नदिइने बताए। यात्रु सहायता कक्ष तथा तोकिएका काउन्टरमा भाडादरको सूची राखिने र सोहीअनुसार मात्र भाडा लिनुपर्ने व्यवस्था गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बसपार्कभित्रबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधनका लागि महासंघले काउन्टर उपलब्ध गराएको बताए। ती काउन्टरबाट टिकट काट्दा राज्यले तोकेको भाडादरभन्दा कम भाडा लिन आग्रह गरिएको बताए। उनका अनुसार राज्यले तोकेको भाडाभन्दा बढी रकम लिइने छैन। यदि त्यस्तो पाइए सरकारले कारबाही गर्न सक्ने उनको भनाइ छ।

गाउँ सहर संवाददाता

तपाईँको मत