गाउँ सहर

बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षतिग्रस्त भएको छ।

एफएओका अनुसार बाढीका कारण करिब ७ हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ। खेतमा माटो र गेग्र्यान थुप्रिनुका साथै मत्स्य पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा समेत क्षति पुगेको छ।

प्रभावित ११ पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाईभैंसी, भेडा–बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा रहेकामा ५ देखि १० प्रतिशतसम्म पशुपन्छी क्षति भएको हुन सक्ने एफएओले जनाएको छ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसानको खाद्य उत्पादन र आम्दानीको आधारमा गम्भीर असर पारेको बताउँदै प्रभावित किसानलाई तत्काल बीउ, पशु आहारा तथा पशु स्वास्थ्य सेवा आवश्यक रहेको बताइन्।

एफएओले नेपाल सरकारसँगको सहकार्यमा बाली, पशुधन, मत्स्य, कृषियोग्य जमिन र कृषि पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकन गरिरहेको जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत