भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- गाउँ सहर संवाददाता
- १६ भदौ मंगलबार, २०८३ | ०८:२३:०० मा प्रकाशित
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ ।
सोमबार गठित कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार र स्वास्थ्यलगायत क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्नेछ। सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र प्रतिवेदनसमेत तयार गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलले विपद्बाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक र वस्तुगत मूल्याङ्कन गर्नेछ । तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकाय परिचालन गर्ने र प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।
त्यस्तै, तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्य योजना तयार गरी आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरिनेछ । सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबिच समन्वय र सहजीकरण गर्ने काम पनि कार्यदलले गर्नेछ ।
पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरोलगायत जोखिमलाई ध्यानमा राख्दै ‘बिल्ड ब्याक बेटर’को सिद्धान्त लागू गर्ने मन्त्रालयले जनाएको छ । दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा अनावश्यक रूपमा दोहोरिने काम रोक्न एकीकृत योजना तथा सूचना प्रणाली प्रयोग गरिनेछ ।
कार्यदलले आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्नेछ । साथै, कार्य प्रगति, समस्या र समाधानका उपायसहित नियमित प्रतिवेदन पेस गर्ने तथा कामको अनुगमन, मूल्याङ्कन र गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।
मन्त्रालयका अनुसार विपद्पछि प्राप्त अनुभव र तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझावसमेत तयार गरिनेछ । कार्यदलले सम्बन्धित सबै निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनः सञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाउनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
प्रतिकृया दिनुहोस