कला

रामेछापका जनप्रतिनिधिको राजनीतिक यात्रा अब पुस्तकमा

रामेछाप। रामेछापको ७४ वर्ष लामो राजनीतिक इतिहास, निर्वाचनमार्फत विभिन्न तहमा पुगेका जनप्रतिनिधि र स्थानीय शासनको विकासक्रमलाई एउटै दस्तावेजमा समेटिएको छ। पत्रकार तथा अध्यापक शिवराज खड्काले तयार पारेको ‘रामेछाप जनप्रतिनिधि सङ्गालो’ पुस्तक प्रकाशित भएसँगै जिल्लाको राजनीतिक इतिहास अभिलेखीकरण गर्ने प्रयास भएको हो।

पुस्तकमा विक्रम संवत् २००८ देखि २०८२ सालसम्म रामेछापबाट विभिन्न तहमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिको परिचय, राजनीतिक यात्रा र प्रतिनिधित्वको विवरण समेटिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय संसद्सम्म पुगेका जनप्रतिनिधिको विवरणलाई एउटै पुस्तकमा समेटिएपछि रामेछापको निर्वाचन र राजनीतिक विकासक्रम बुझ्न चाहनेका लागि यो महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने लेखकको विश्वास छ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय गाउँसहर डटकमका सम्पादक तथा आमसञ्चार एवं पत्रकारिता विषयका अध्यापक खड्काले पुस्तक तयार गर्न दुई वर्षभन्दा बढी समय लगाएका छन्। रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवी निवासी खड्काले पत्रकारितासँगै आर्थिक, सामाजिक र राजनीतिक विषयमा लेख्दै आएका छन्।

पुस्तक तयार गर्ने क्रममा उनले जनप्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, अन्तर्वार्ता र फोन संवादमार्फत तथ्य सङ्कलन गरेका थिए। निर्वाचन आयोग, संघीय संसद् सचिवालय, स्थानीय तहका अभिलेख, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐनलगायत विभिन्न आधिकारिक स्रोतलाई समेत आधार बनाइएको उनले बताएका छन्।

सङ्गालोमा २०७९ र २०८२ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य, बागमती प्रदेशसभाका पाँच सदस्य, जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख, दुई नगरपालिकाका प्रमुख–उपप्रमुख, छ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, ६४ वडाध्यक्ष तथा २५६ वडा सदस्यको विवरण समेटिएको छ।

त्यसैगरी २०४३ सालदेखि उपलब्ध अभिलेखका आधारमा गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्च, २०४९ र २०५४ सालका गाविस अध्यक्ष–उपाध्यक्ष तथा २०७४ र २०७९ सालका स्थानीय जनप्रतिनिधिको विवरणसमेत पुस्तकमा राखिएको छ।

लेखक खड्काका अनुसार पुस्तकको उद्देश्य जनप्रतिनिधिको नाम र परिचय मात्र संकलन गर्नु नभई रामेछापको राजनीतिक परिवर्तन, स्थानीय शासनको विकास र प्रतिनिधित्वको क्रमलाई दस्तावेजीकरण गर्नु हो। बिखण्डित रूपमा रहेका राजनीतिक तथा निर्वाचनसम्बन्धी तथ्यलाई एउटै ठाउँमा ल्याउने प्रयास गरिएको उनले बताए।

पुस्तक विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार, राजनीतिकर्मी तथा रामेछापको राजनीतिक इतिहासबारे चासो राख्ने सर्वसाधारणका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। पुस्तकको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत