विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- गाउँ सहर संवाददाता
- ४ भदौ बिहीबार, २०८३ | ०७:४०:०० मा प्रकाशित
दार्चुला, महाकाली। विद्यार्थीमा देखिने मानसिक तनाव, भावनात्मक समस्या तथा पढाइको दबाबलाई समयमै पहिचान गरी आवश्यक सहयोग पुर्याउने उद्देश्यले महाकाली नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाका लागि तीनदिने मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ।
साइकोडेस्क फाउन्डेसन, महाकाली नगरपालिका र वर्ल्डलिंक कम्युनिकेसन्सको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत संयुक्त आयोजनामा भदौ १ देखि ३ गतेसम्म महाकाली नगरपालिकाको सभाहलमा तालिम सञ्चालन भएको हो। विभिन्न सामुदायिक विद्यालयका २२ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको तालिममा विद्यार्थीको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थासँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो।
मानसिक स्वास्थ्यदेखि सकारात्मक संवादसम्म
तालिममा कक्षाकोठामा मानसिक स्वास्थ्य, विद्यालयस्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सामाजिक–भावनात्मक सिकाइ, मानसिक स्वास्थ्यमा प्राथमिक सहयोग, विद्यार्थीको व्यवहारमा देखिने परिवर्तनको पहिचान, सक्रिय सुनाइ, सकारात्मक संवाद, तनाव व्यवस्थापनलगायतका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।
तालिमको सहजीकरण साइकोडेस्क फाउन्डेसनका संस्थापक तथा वरिष्ठ मनोविद् डा. नरेन्द्र ठगुन्नाले गरेका थिए। उनले विद्यार्थीको मानसिक तथा भावनात्मक अवस्था बुझेर कक्षाकोठामा सुरक्षित, सहयोगी र सकारात्मक वातावरण निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए।
विद्यार्थीमा देखिने व्यवहारिक परिवर्तनलाई समयमै पहिचान गरी संवेदनशील रूपमा सुन्ने, आवश्यक प्रारम्भिक सहयोग गर्ने तथा जटिल अवस्था देखिएमा सम्बन्धित विशेषज्ञ वा सेवासँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
वर्ल्डलिंकको सहकार्यमा मानसिक स्वास्थ्यको पहुँच विस्तार
कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्सका सीएसआर म्यानेजर जनक राज हमालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षकहरूले विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्ने विश्वास व्यक्त गरे।
उनले विद्यार्थी, शिक्षक, अभिभावक–शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसम्म मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान हस्तान्तरण गर्दै आवश्यक गतिविधिमार्फत समुदायस्तरसम्म यसको पहुँच विस्तार गर्ने बताए।
स्थानीय तह, विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तर्कराज भट्टले विद्यालयमा विद्यार्थीको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले विद्यालयमा विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
महाकाली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत ईश्वरी ठगुन्ना धामीले विद्यार्थीमा देखिने मनोसामाजिक समस्याको प्रारम्भिक पहिचान तथा आवश्यक सहयोगका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि महत्वपूर्ण रहेको बताए। विद्यालयमा विद्यार्थीको व्यवहारमा आउने परिवर्तनलाई समयमै बुझेर उचित सहयोग पुर्याउन शिक्षक सक्षम हुनुपर्ने उनले बताए।
‘दैनिक शिक्षणमा उपयोगी’
तालिमका सहभागी श्री राष्ट्रिय माध्यमिक विद्यालय, दत्तुका शिक्षक रमेश चैंसिरले तालिम निकै उपयोगी रहेको बताए। तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई दैनिक शिक्षण–सिकाइमा प्रयोग गर्न सकिने उल्लेख गर्दै उनले यस्ता क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।
तीनदिने तालिमले शिक्षकहरूलाई विद्यार्थीको मानसिक तथा भावनात्मक अवस्था संवेदनशील रूपमा बुझ्न, प्रारम्भिक समस्या पहिचान गर्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। साथै, तालिमबाट प्राप्त ज्ञानलाई कक्षाकोठादेखि परिवार र समुदायसम्म पुर्याउँदै मानसिक स्वास्थ्यप्रति सचेत, सहयोगी तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस