गाउँ सहर

शान्ति, सद्भाव कायम गर्न आमनागरिकमा आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सुनसरी घटनाबारे आह्वान गरिएको सर्वदलीय बैठकले शान्ति, सद्भाव कायम गर्न आमनागरिकमा आह्वान गर्ने निर्णय गरेको छ । बुधबार राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव वर्षौंदेखिको सम्पत्ति भएकाले यसलाई कायम गर्न एकताबद्ध भएर लाग्न आमनागरिकमा आह्वान गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, "सदियौँदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ ।"

के छ अपीलमा?
१. समवेदना तथा सहानुभूति:
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति  गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

२. सामाजिक सद्भाव र शान्तिको अपिल:
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।

३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान:
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न  सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।

४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान :
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई  निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका :
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू-भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक  पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।

६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग :
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति  र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।

७. नेपाल सरकारको ध्यानाकर्षण:
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं। 

गाउँ सहर संवाददाता

तपाईँको मत