२३ जिल्लामा रात्रिकालीन सवारीमा रोक, देशका विभिन्न स्थानमा भारी वर्षा हुने
- गाउँ सहर संवाददाता
- २ श्रावण शनिबार, २०८३ | १९:२८:०० मा प्रकाशित
काठमाडौं । देशका २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनका आधारमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको बैठकमा छलफल भएको छ।
यी जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन कमाण्ड पोष्टले निर्देशन दिएको छ। भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले रातो रङ इङ्कित जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउन भनिएको छ। परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ। अन्य जिल्लाहरूमा समेत उच्च सतर्कताका लागि अनुरोध गरिएको छ।
बैठकले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सडक विभाग र अन्य सम्बद्ध निकायलाई भनिएको छ। पूर्वसूचना तथा चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र घरपरिवारलाई विपद् आउनुपूर्व नै आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई अनुरोध गर्ने निर्णय भएको छ।
यसैगरी आवश्यकता अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग, सहकार्य र साझेदारी गर्न विकास साझेदार संघसंस्था, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र र सम्पूर्ण नागरिकलाई बैठकले आग्रह गरेको छ। आपत्कालीन गोदामघरलाई आवश्यक परेमा तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय समेत कमाण्ड पोष्टले गरेको छ।
विभागले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई रातो रङ अर्थात् प्रतिकार्य गर्नुपर्ने सूचीमा राखेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस