गाउँ सहर

प्रधानमन्त्री वालेन्द्र शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने पहिलो विदेशी बने एडीबी अध्यक्ष कान्डा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो ।

एडीबी अध्यक्ष कान्डा प्रधानमन्त्री बालेनसँग द्विपक्षीय भेटवार्ता गर्ने पहिलो विदेशी बनेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।

कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झाैता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो ।

सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

विसं. २०८२ चैत १३ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन यसअघि कुनै पनि विदेशी नेतासँग द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिएनन् । उनले विदेशी राजदूतहरूलाई पनि एक्लै शिष्टाचार भेट दिएका छैनन् । 

विदेशी राजदूतहरूले उनीसँग दुईपटक सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकी उप तथा सहायक मन्त्रीहरू आउँदा पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् । 

भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेटवार्ताको लागि समय नदिएपछि मिश्रीले आफ्नो नेपाल भ्रमण स्थगित गरेका थिए । प्रधानमन्त्रीले प्रोटोकल मिचेर भेटवार्ता नगर्ने भन्दै समकक्षीहरूसँग मात्र भेटवार्ता गर्ने अडान लिँदै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत