गाउँ सहर

घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंको आगामी नेतृत्व चयन प्रक्रियाका लागि वरिष्ठ अधिवक्ता उज्ज्वल राम घिमिरेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

वरिष्ठ अधिवक्ताहरू, अग्रज तथा डीएलएसँग आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै घिमिरेले संगठनलाई परिवर्तन, प्रतिबद्धता र प्रविधिमैत्री सशक्त नेतृत्वको दिशातर्फ अघि बढाउने अठोटका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

उनले डीएलएलाई केवल एक व्यावसायिक संस्थाका रूपमा मात्र नभई लोकतन्त्र, विधिको शासन तथा कानुन व्यवसायको गरिमालाई सुदृढ गर्ने साझा अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । वर्तमान न्यायिक एवं देशको समग्र परिस्थितिलाई अवसर र चुनौतीका रूपमा लिँदै त्यसलाई सामूहिक प्रयासबाट उपलब्धिमा रूपान्तरण गर्नुपर्ने घिमिरेको भनाइ छ।

घिमिरेका मुख्य प्राथमिकताहरू: अध्यक्षका रूपमा आफ्नो जित निश्चित भएपछि संस्थागत सुदृढीकरणमा विशेष जोड दिने उनले बताए । घिमिरेले अघि सारेका मुख्य प्राथमिकताहरू यस्ता छन्:

  • अग्रजको अनुभव र युवाको ऊर्जा: अग्रजहरूको मार्गनिर्देशन र युवा पुस्ताको सक्रियतालाई समन्वय गर्दै अघि बढ्ने।

  • प्रविधिमैत्री अभ्यास: कानुनी क्षेत्रमा प्रविधिको उच्चतम् प्रयोग गर्दै व्यावसायिक कामलाई थप प्रभावकारी बनाउने।

  • पारदर्शी र विश्वसनीय नेतृत्व: संगठनलाई पारदर्शी, प्रगतिशील र सबै सदस्यहरूको विश्वासयोग्य संस्थाका रूपमा स्थापित गर्ने।

  • सदस्यहरूको सशक्तीकरण: प्रत्येक सदस्यको आवाज सुन्ने, क्षमता पहिचान गर्ने र नेतृत्वको अवसर प्रदान गर्ने समावेशी प्रणालीको विकास गर्ने।

“म कुनै व्यक्तिको होइन, विचारको उम्मेदवार हुँ,” भन्दै घिमिरेले सम्पूर्ण सदस्यहरूको विश्वास, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेका छन् । उनले डीएलए काठमाडौंलाई न्यायमा पहुँचका लागि थप सशक्त, सम्मानित र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत