च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
- रासस
- १८ कार्तिक बुधबार, २०८३ | ०५:५१:०० मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् ।
विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु गरिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउ खेती सुरु गरेकी थापाले हाल पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।
“श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो, अरूले पैसा छैन भन्दा नराम्रो लाग्थ्यो,” उनले विगत सम्झँदै भनिन्, “अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो ।”
आत्मनिर्भर बन्नका लागि केही न केही गर्नुपर्छ भन्ने हुटहुटी रहेका बेला उहाँलाई आफन्तले च्याउ दिएको सम्झिन्छिन् । त्यसपछि च्याउ खेती गरेरै आत्मनिर्भर हुन सकिन्छ कि भनेर यसमा लागेको उनको भनाइ छ ।
“सुरुआतमा बीउ कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन,” उनले भनिन्, “पछि कृषि विज्ञान पढिरहेको छोराले च्याउ खेतीको किताब दियो ।” सुरुआती चरणमा च्याउ खेतीको पर्याप्त ज्ञान नहुँदा समस्या भोग्नु परेको उनको भनाइ छ ।
सुरुमा किताबमा पढेर च्याउ खेती गर्ने प्रयास गरे पनि त्यसबाट अपेक्षित सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । “आफैँले गरे जस्तो किताब पढेर मात्र नहुँदो रहेछ,” उनले भनिन्, “सुरुआतमा पाँच वटा पोका च्याउ राखेको थिए कसरी राख्ने भन्ने ज्ञान नहुँदा त्यो सबै खेर गयो ।”
अर्को वर्ष कृषि ज्ञान केन्द्र र च्याउ खेती गरेका अन्य किसानबाट खेती गर्ने तरिका सिकेपछि राम्रो उत्पादन भएको उनले बताइन् । “यहाँ जतिले च्याउ खेती गरेका थिए सबैको फर्ममा हेर्न गए उहाँहरूले पनि मलाई राम्रो सहयोग गर्नुभयो,” थापाले भनिन्, “सुरुमा कसरी पराल काट्ने, कसरी राख्ने, कसरी उमाल्ने केही थाहा थिएन ।” च्याउ खेतीबाट आम्दानी हुन थालेपछि हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएको उनको भनाइ छ ।
अहिले च्याउ खेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको उनको भनाइ छ । “च्याउ खेतीबाट घर खर्च दुई वटा छोराको पढाइ खर्च चलेको छ,” उनले भनिन्, “अहिलेसम्म आफ्नो पैसा च्याउ खेतीमा लगानी गरेको छैन बिक्रीबाट आएको नाफाबाट थप खेती गर्छु ।”
उहाँका अनुसार वर्षमा एक हजार ५०० केजी च्याउ बिक्री हुने गरेको छ । त्यसबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । “मेरो छोरा कृषि विज्ञान अध्ययन गर्दै छ उसले मलाई सहयोग गर्छ,” उनले भनिन्, “अहिले हिउँद र वर्षातको समयमा च्याउ फलाउँछु यसबाट म आत्मनिर्भर छु ।”
सुरुआतमा बाँसको टहरा बनाएर च्याउ खेती गर्दा हरेक वर्ष हावाहुरीका कारण छाना उड्ने समस्या भोग्नुपरेको उनले सुनाइन् ।
कृषि ज्ञान केन्द्रबाट च्याउ खेतीसम्बन्धी कार्यक्रम सञ्चालन हुने जानकारी पाएर निवेदन दिएपछि सहयोग प्राप्त भएको उहाँको भनाइ छ । “ज्ञान केन्द्रबाट सहयोग प्राप्त भएपछि च्याउ खेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भयो,” उनले भनिन्, “अहिले सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन हुन्छ यस वर्षदेखी डल्ले च्याउ पनि उत्पादन गर्ने तयारी गरेकी छु ।”
उनले आफूले अझै धेरै उत्पादन गर्न सक्ने भए पनि बजारमा अन्यत्रबाट आयात भएको च्याउले गर्दा बिक्रीमा समस्या हुने गरेको बताइन् । आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहे पनि बजारमा च्याउको उचित मूल्य नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ ।
“धेरै उत्पादन बढाउने सोच थियो यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ हामीले मेहनतले उत्पादन गरेको मूल्य पाइँदैन,” थापाले भनिन्, “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ ।” उत्पादन बढाउने सम्भावना भए पनि बजार मूल्य सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको उनको भनाइ छ ।
रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- रगतको चरम अभाव भएपछि रक्तदान गर्न रेडक्रसको आह्वान
- दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
- मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
- म्याग्दीको मङ्गला गाउँपालिकामा बाटाे खुलेको १४ वर्षपछि स्तरोन्नति
- पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
प्रतिकृया दिनुहोस