गाउँ सहर

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

कञ्चनपुर । ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको छ । यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।

यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको छ । बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो ।

यो पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष ‘सिस्नो लगाउने’ चलन हो । देवरभाउजबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने चलनले परिवारभित्रको सम्बन्धलाई हाँसो, माया र नजिकपनले भरिदिने गर्छ । भाउजु नभएकाहरूले आफैँले सिस्नो छुने चलन पनि छ । यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वास गरिन्छ ।

स्थानीयका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । सिस्नो लगाउन आएका देवर देखेर भाउजु लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो । भाउजुले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मका रमाइला दृश्य हुन्थे । पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उनीहरूको भनाइ छ ।

सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत