कला

‘घोषणापत्र’

  • दिव्य गिरी
  • ७ फाल्गुण बिहीबार, २०८२ | २०:१०:०० मा प्रकाशित
एआई निर्मित चित्र ।

बाबू-आमा खेतबारीमा गएपछि ऊ, आँगनमा एक्लै बाख्राका स-साना पाठापाठीसँग खेलिरहेको थियो । उमेरले आठ नौ वर्षको उसको शरीरमा जताततै च्यातिएको नाम मात्रकै लुगा थियो । यस अर्थमा भन्नुपर्दा ऊ नाङ्गैभुतुङ्गै देखिन्थ्यो ।

देशमा चुनावको दिन नजिकै आउँदै थियो । एकदिन एक हूल मान्छेहरू हल्लीखल्ली गर्दै उसको आँगनमा आए । घरमा ठूला मान्छे कोही नदेखेपछि एकजनाले उसलाई एउटा कागज दिँदै भन्यो -"यो भरे बालाई देऊ है ।" जवाफमा उसले चुपचाप टाउको मात्रै हल्लायो ।

उसलाई त्यो रङ्गीन कागज निकै राम्रो लाग्यो र धेरैबेरसम्म हेरिरह्यो ।

करिब दुई हप्तासम्म मानिसहरू आएर उसलाई कागज दिने प्रक्रिया चलिरह्यो ।

अब ऊसँग त्यस्ता कागजका टुक्राहरू सयौं भयो ।

केही दिनपछि चुनावमा जित्ने उम्मेदवारले विजय जुलुस निकाल्दै उसकै घरछेउबाट गयो । तर उसलाई कसैले हेरेनन् ।

जुलुस एउटा चउरमा पुग्यो । उसलाई पनि त्यहाँ जान मन लाग्यो, तर उसको शरीरमा झुत्रो लुगा मात्रै थियोे ।

केहीबेरपछि ऊ त्यहाँ गयो ।

विजयी नेताले भाषण गरिरहेको थियो ।

मान्छेहरू भने नेताको भाषण सुन्न छोडेर ऊतिर हेर्दै हाँस्न लागे ।

उसले महिनादिनसम्म पाएको तिनै रङ्गिविरङ्गी चुनावी घोषणापत्रको माला बनाएर शरीरभरि बेरेर आफ्नो शरीर ढाकेको थियोे ।

लघुकथा : फागुन ७, २०८२ ।

तपाईँको मत