लघुकथा : विषालु हावा
- श्रीकृष्ण शर्मा
- २ असोज शनिबार, २०७८ | २०:३४:०० मा प्रकाशित
नेताजी विलखबन्दमा परेर चोकमै बसिरहेका थिए ।
म आइपुगेँ । पूर्वतिरबाट एक झोक्का हावा आयो । नेताजीको नेप्टे नाकमा पस्न खोज्यो । उनी मुसुक्क मुस्कुराए । हावाबाट मगमग मीठो सुगन्ध जो आइरहेको थिए । हावाले घुमायो, “नेताज्यू ! के छ विचार ? कि सधैँ थोत्रो कोट नै लगाउने ? छोरालाई गोरुचरन, उ... त्यो क्या, अक्सफोरडमा पढ्न नपठाउने ?” “मैले कुरो बुझेँ ।” नेताले प्रत्युत्तर दिइहाले ।
यस हावा आएको केही दिनपछि टिभीले फुके, “पशुपतिनगरमा भारतीय सेनाले नेपाली भूमिमा लामो हात गरे ।”
एक दिन पश्चिम भ्रमण गएर आउँदै थिए । बाटोमा पश्चिमी वायुको महक बगिरहेको थियो । उनले लामो सास फेरे । “एक तीरसे दो निसाना । धेरै किन सोच्नु पर्यो र ? कुर्सीमा जान मन छ नि ?” वायुले दबाब दियो । नेताले विस्फारित नेत्रले हेरे । स्मित हाँसो छरियो ओठमा ।
त्यसको दुई दिनमै भारतले महाकाली सीमा विवाद नभएको तर्क तेर्स्यायो । उता अमेरिकाले एमसिसी हस्ताक्षर प्रस्ताव गर्यो । एउटा सानो सम्झौता मात्र । “विचार गर, म त वायु होइन नि प्राणवायु । होली वाइन बिस्र्याै र ? अमेरिकाले सहयोगी हात बढायो । नेताले डलर सम्झेर अनुहारको कलर बदले ।
अब त अति भयो । नेपाल आमा करुण स्वरमा बोलिन्, “ बाबु ! यस्तो आमाघाती काम नगर्न ।” नेताजीले जुँगा मुठारे, “तिमी चुप लागेर हेर न । धेरै नबोल त बूढी भैसक्यो । के तिमीलाई छोराको खुसीले रिस लाग्यो ?” आमा निरुत्तर भइन् ।
दक्षिण पनि यी सबै कुरा नियालिरहेको थियो । उता पनि सिरसिर बतास चल्न थाल्यो । नेता वाटिका बसेर पेटिका खोल्दै थिए, “आहा ! घरमा लक्ष्मीको बास छ ।” “नेपाल चीनतिर ढल्केछ । उताको धक्का थाहै पाउँदैन ।” दक्षिणले दानवता पस्क्यो । “कञ्चनपुरको किला भाँचिदेऊ न ।” जसोतसो नेताले चुपचाप बनाए ।
तीनै दिशाका कुरा कान थापेर सुनेको उत्तर उम्लियो । जोडसँग चलेको बतासले हाँगा हल्लायो । “हे नेपाल ! तिमी तीनतिरबाट मात्र होइन, रिनतिरबाट पनि घेरिएका छौ ।”
त्रिभुवन विमानस्थलमा माहुरी बोकेर भर्खर उड्दै गरेको जहाजमुनि बसेर कोही गाउँदै छ –
चारै – तिर चलिराछ – यो – विषालु हावा
औँठी देखाई बाघले खायो लौन बाबाआमा ।
मिति ०७८\०६\०२
प्रतिकृया दिनुहोस