कला

लघुकथाः वरदान

यो देशको सरकारमा बस्ने ठेकेदारहरूको सद्बुद्धि फिरोस्

  • दिव्य गिरी
  • १९ बैशाख मंगलबार, २०८० | १७:३०:०० मा प्रकाशित

ऊ बगैँचाको गमलामा पानी हालिरहेको थियो ।

‘मनुवा बगैँचा त निकै सुन्दर रहेछ’ कसैले भनेको आवाज सुन्यो उसले । ऊ आवाज आएतिर फर्केर हे-यो । तब ऊ आश्चर्य चकित प-यो । उसको अगाडि जो उभिएको थियो उनी साधारण मान्छे नभएर साक्षात् भगवान नै थिए । आफ्नो अघिल्तिर भगवानलाई देखेर ऊ एकछिनसम्म बोल्नै सकेन । उसको मनमा कताकता डर पनि लाग्यो ।

‘मनुवा तैँले मलाई चिनिनस् कि के हो ? म तेरो भगवान हुँ ।’

त्यसपछि उसले आफूलाई सम्हाल्यो । पानीको झारीलाई भुइँमा राख्यो र हात जोडेर भन्यो– ‘अहो भगवान् ! माफ पाऊँ, मैले हजुरलाई चिन्न ढिला भयो ।’

‘मनुवा, म तँलाई वरदान दिन्छु, के माग्छस् माग ?

भगवानले वर माग भनेपछि ऊ झन अलमलमा प-यो । के वर माग्ने ? आफैँसँग प्रश्न ग-यो । धेरै वर्षसम्म सरकारी नोकरी गरेर ऊ अवकाशको जीवन बिताइरहेको थियो । छोरा–छोरी अमेरिका र अष्ट्रेलियामा परिवारसहित बसेका छन् । उसको घर छ । दुई प्राणीलाई खान र बस्न न कुनै अभाव थिएन । एक किसिमले ऊ सुखी थियो । तत्क्षण उसले आफूभित्रको पीडा सम्झियो ।

उसले गहभरि आँसु पार्दै भन्यो– ‘हे भगवान, बाँच्नको निम्ति सबैथोक मैसँग छ । त्यति हो कि यो देशमा चरम भ्रष्टाचार र बेरोजगारको कारण मेरोजस्तै धेरैका छोराछोरी विदेशमा जान बाध्य छन् । विस्तारै नेपालीको भावीपुस्ता पलायन हुँदैछन् । यो देशको सरकारमा बस्ने ठेकेदारहरूको सद्बुद्धि फिरोस् भन्ने वरदान पाऊँ ।’

तपाईँको मत