खेल

 पोखरामा २६औं आदर्श कप फुटबल तथा छैठाैँ टाइगर कप भलिबल सुरु

पोखरा ।  पुरस्कारको रकमका हिसाबले समेत चासोका साथ हेरिएका पोखराका दुईवटा प्रतियोगिता शुक्रवार देखि सुरु भएका छन् । पोखरा २९ को आदर्श युवा क्लवको आयोजनामा २६ औं आदर्श कप फुटबल तथा टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैठाैँ टाइगर कप भलिबल सुरु भएको हो ।

आदर्श कप फुटबल प्रतियोगिता माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक खेलमैदानमा  ८ टिमको सहभागीतामा हुँदै  छ भने  माघ १७ गतेसम्म चल्ने छैटौं टाइगर कपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरे ।च्याम्पियनसिपको पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ),त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् ।

यता आदर्श युवा क्लवको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिताका मुख्य प्रायोजक फस्ट च्वाईस फुड्स  लिमिटेड रुपन्देहिका प्रमुख कृष्ण प्रसाद पौडेलले खेलकुदले भाईचाराको सम्वन्ध विस्तार गर्दै अनुशासनका कुरा सिकाउने उल्लेख गर्दै आफनो उत्पादनले युवाले स्वदेशमा नै केही गर्न सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे ।

उद्घाटन खेलमा गत वर्षको विजेता कास्की ११ बाहिरिएको छ । कास्की ११ लाई नेपाल प्रहरी गण्डकी प्रदेशले ट्राई व्रेकरका आधारमा पछि पारेको छ । खेलको ४४ मिनेटमा कास्की ११ का मनिस थापा मगरले पहिलो गोल गरेर आफनो टिमलाई अग्रता दिइरहेकै अवस्थाको ४६ औं मिनेटमा नेपाल प्रहरीको तर्फबाट शुसिल लामाले गोल फर्काएर वरावरीमा ल्याउन सफल भए पछि निर्धारित समयमा कुनै पनि गोल हुन सकेन ।

खेलमा थपिएको समयमा पनि दुवै टिमबाट कुनै पनि गोल नभएपछि ट्राईव्रकरका आधारमा भएको प्रतिस्पर्धामा नेपाल प्रहरी सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो ।
२६ औं आदर्श कप फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छैठाैँ टाइगर कप च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत