राजनीति

राष्ट्रिय सभाका १८ सिटमा कांग्रेस र एमालेसहित चार दलबीच यसरी गरियो भागबन्डा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच भागबन्डा हुने भएको छ।

यी दलहरू गठबन्धन गरेर माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनमा जान लागेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसहित १८ जनाका लागि हुने निर्वाचनमा चारै दलले भागबण्डामार्फत् अगाडि बढ्ने अवस्था रहेको ब्रिफिङ अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले सचिवालय बैठकमा गरेका छन् ।

ओलीको ब्रिफिङ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भागबण्डाबारे छलफल भइसकेको छ । यसमा अब उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको जसपा नेपाल पनि जोडिनेछ ।

छलफलमा कांग्रेस र नेकपा पनि सकारात्मक रहेकाले राष्ट्रिय सभामा सिट बाँडफाँट हुने निश्चित भएको ब्रिफिङ ओलीले गरेका हुन् । उनले सबै मिल्दा भागबन्डाका क्रममा १, २ सिट तलमाथि हुने पनि बताए ।

तत्कालीन नेकपा माओवादी र एकीकृत समाजवादीबाट राष्ट्रिय सभा निर्वाचनमा आठ जनाको पद सकिँदैछ । अहिले यी दुईटा पार्टी मिलेर नेकपा बनेको छ।

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गतेलाई तोकिएको छ। एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

जसमा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत