माैसम : देशकाे विभिन्न भागमा देखिन थाल्याे ‘मोन्था’ चक्रवातको प्रभाव
- गाउँ सहर संवाददाता
- १३ कार्तिक बिहीबार, २०८२ | ०७:१६:०० मा प्रकाशित
काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुन थालेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को असर नेपालमा पर्न थालेको छ । अरेबियन सागरमा उत्पन्न यस चक्रवातले नेपालको हिमालमा कात्तिक महिनामै हिमपात गराएर असर पर्न सुरु भएको हो । मोन्था चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले उक्त चक्रवात भारतको आन्ध्र प्रदेशमा जमिनमा खसेसँगै त्यसले बलियो न्यूनचापीय प्रणालीमा परिणत भएर बुधबारदेखि नेपाल प्रवेश गरेको प्रस्ट पारेको छ । उक्त चक्रवातले भारतका विभिन्न क्षेत्रमा भारी वर्षासहित आँधीहुरी सिर्जना गरेर जनजीवन कष्टकर पारिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार यस चक्रवातको असरले नेपालको पूर्वदेखि गण्डकीसम्मको उच्च हिमाली भेगका केही स्थानमा बाक्लो हिमपात गराउनुका साथै तल्ला भेगमा भीषण वर्षा गराउने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाहीलगायत जिल्लामा बाढीसँगै डुबानको खतरा कायम रहने भएकाले सचेत रहन भनिएको छ । त्यस्तै कोशी प्रदेशका साना नदीहरूमा आकस्मिक बाढी बढ्ने, पहिरो जाने सम्भावना भएकाले चनाखो रहन अपिल गरिएको छ । चक्रवातको असर नेपालमा अधिक हुन सक्ने सम्भावनालाई ध्यान दिँदै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षेत्रका जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्राचार गरेर जिउधनको सुरक्षाको तयारी गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले कोशी प्रदेशका सम्भावित प्रभावित जिल्लाहरूको वर्गीकरण गरेर सुरक्षाको काम थालेको जनाएको छ, जस अनुसार कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा पनि तयारी थालिएको छ । त्यस्तै बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीमा पनि आवश्यक तयारी गरिएको छ ।
प्राधिकरणले आगामी तीन दिन अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । त्यस्तै डुबान हुन सक्ने बस्ती र नदीकिनारका बासिन्दालाई वर्षा सुुरु भएपछि उच्च र सुरक्षित स्थानमा जान भनिएको छ ।
धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याएर सुरक्षित राख्न भनिएको छ । साथै सरकारका तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस