गाउँ सहर

टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतकाे संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ। बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ। बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ। सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ।

यसअघि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने प्रतिबद्धता जनाएका छन् । आज बोलपत्र आह्वान भएपछि तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने उनले बताए ।

‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्‍यौं । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो ।’

जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको उनले उल्लेख गरेका छन् ।

उनले थपेका छन्, ‘त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ ।’

प्रधानमन्त्री ओलीले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत