अर्थतन्त्र

नेप्से फेरि २६ सय विन्दुमुनि

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । यसदिन नेप्से घट्दा २६०० विन्दुभन्दा तल झरेको छ ।

बिहीबार नेप्से परिसूचक ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा आइपुगेको हाे । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ५५ हजार ९८९ पटकको कारोबारमा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँबराबरको ९८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ३०२ रुपैयाँ ५० पैसा बढेर ३ हजार ३२७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन १७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको करिब साढे ११ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत