भारी वर्षाले देशैभरकाे जनजीवन प्रभावित, यस्ताे छ प्राप्त जनधनकाे क्षति विवरण
- गाउँ सहर संवाददाता
- १२ असोज शनिबार, २०८१ | ०८:३५:०० मा प्रकाशित
काठमाडाैँ । मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ । सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ ।
बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन् । करोडौं रुपैयाँको क्षति भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार पाँच प्रदेशका विभिन्न ठाउँमा भारी मात्रामा वर्षा भएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । यस्तै धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।झापामा ३१ परिवार विस्थापित, १ बालिकासहित ३ बेपत्ता भएका छन् । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । मोरङमा निरन्तर वर्षापछिको बाढी र डुबानका कारण शुक्रबार साँझ ४० परिवार विस्थापित भएका छन् ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षातसँगै आएको बाढीमा सिन्धुलीमा ३३ जना फसेका छन् भने पक्कीसहित पाँच घर बगाएको छ । अविरल वर्षापछि खसेको पहिरोले धादिङमा २ जना बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छन् ।
अविरल वर्षाका कारण काठमाडौं उपत्यका पनि जलमग्न भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार राजधानीका विभिन्न क्षेत्रमा जोखिम मापन गरिएको छ। जल तथा मौसक विज्ञान पूर्वानुमान महाशाखाका अनुसार कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर पानी परेको छ । ललितपुरको लेलेमा ११५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानाशा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यसरी नै चितवनको मुग्लिन नारायणगढ सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जाँदा शनिबार रातिदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ । नदीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घरहरू तथा रिसोर्ट डुवानमा परेका छन् ।
यता मकवानपुर स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय इन्द्रसरोवर तालको २ वटा ढोका खोलिएका छन् । हिजो शुक्रवार बिहानैबाट सुरु भएको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामका २ वटा ढोका खोलिएको हाे ।
असोज ११, १२ र १३ गते नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी वेलसोत, बागमती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम, बबई चेपाङ नदी र यसका सहायक नदीहरुमा जलसतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ ।
क्षतिका विवरणहरू संकलन भइरहेकाे विपद् केन्द्रले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना हुँदा एकजनाको मृत्यु
- राप्रपामा अध्यक्षको अधिकार के हो र होइन भन्ने टुंगो केन्द्रीय कार्य समितिमा हुने अवस्था विकसित
- शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड
- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात
- भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन
- सप्तमी, अष्टमी-नवमी र दशमीका दिनमा चार प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली
- आज सप्तमी, दसैँ घरमा फूलपाती भित्र्याइँदै
- ग्लोबल आइएमई बैंक र माइजोइबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
- दसैंअघिको सेयर बजारमा सामान्य अंककाे वृद्धि
- गीतकार विश्व बल्लभको निधन
प्रतिकृया दिनुहोस