गाउँ सहर

चढ्ने हाेइन त धरहरा ! भोलिदेखि सर्वसाधारणका लागि खुला, प्रवेश निःशुल्क

काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ।

संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको हो।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ। परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ।

भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ।

२०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो। नयाँ धराहरा बनेपछि काठमाडौं महानगरपालिकाले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनुको फेरि आफैंलाई यसको जिम्मा दिन माग गरेको थियो। तर, संघीय सरकार अब महानगरपालिकालाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन। २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिंदै धरहराको उद्घाटन गरेका थिए।

उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन। फेरि प्रधानमन्त्री भएपछि ओलीले काम नसकिएपनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरेका हुन्।

गाउँ सहर संवाददाता

तपाईँको मत