गाउँ सहर

स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता, कुन-कुन दलले जितेका ठाउँमा खाली ?

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ता गरिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै असोज ९ गते दल दर्ताको सूचना जारी गरिने जनाएका छन् । 

आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ । मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । 

मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुगेकाको नाम मतदाता नामावलीमा अध्यावधिक गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पद खाली छन्।

जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद रहेका छन्।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ। त्यसै अनुसार निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो।

आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै पद खाली भएमा मंसिर १६ गते नै उपनिर्वाचन गराउनेछ।

उपनिर्वाचन हुन लागेका अधिकांश पदमा यसअघि नेपाली कांग्रेसले जितेको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले थिए।

नेपाली कांग्रेसको तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए।

त्यस्तै नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो।  नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।

गाउँ सहर संवाददाता

तपाईँको मत