गाउँ सहर

काठमाडाैं वडा ८ बाट पारालिम्पिक पलेसा र प्रशिक्षक कविराज नगद राशीसहित सम्मानित

काठमाडौं । पारालिम्पिक कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले नगद सहित सम्मान गरेको छ । आज वडामा आयोजना गरिएको कार्यक्रममा जनही ५१ हजार रुपैयाँसहित उहाँहरुलाई सम्मान गरिएको हो । 

‘काठमाडौंकी छोरी पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गर्नु भएको योगदान अतुलनीय छ । यो नेपाली सबैको जित हो ।’ कार्यक्रममा वडाध्यक्ष आशामान संगतले भने, ‘खेलाडीको जितमा साथसाथै हुने प्रशिक्षक हाम्रो वडाबासी हुनुको नाताले हामी वडा नं. ८ बासीले अझ गौरव महसुस गरेका छौँ ।’

त्यस क्रममा स्थानीय क्लव तथा संघसंस्थाकातर्फबाट पनि सम्मान पत्र प्रदान गरिएको थियो । स्थानीयहरुको तफबाट बोल्दै श्यामकृष्ण संगतले भने, ‘पलेशाको विजय यात्राले युवाहरुमा सम्भावनाको नयाँ सञ्चार भएको छ । खेलप्रति उहाँहरुमा सकारात्मक उर्जा थपिएको छ । यसले थप नतिजाका लागि योगदान गर्नेछ ।’

पलेशाले गएको पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेकी थिइन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत