के हाे हैजा, बच्ने उपाय र घरेलु उपचार यस्ताे छ
- गाउँ सहर डेस्क
- २१ श्रावण सोमबार, २०८१ | ०८:०१:०० मा प्रकाशित
हरेक गर्मी र वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू बढेके समाचार सुनिन्छ । हैजाको बिरामी फेला परेपछि यो रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास देखिन्छ । हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ ।
दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो ।
महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ ।
ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडा पखाला लाग्ने गर्दछ त्यसलाई कोलेरा अर्थात् हैजा भनिन्छ । हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरुले देखाएको छ ।
हैजा २०० वर्ष पहिला नै पत्ता लागेको रोग हो । अहिलेसम्म विश्वव्यापी रुपमा ७ पटक यसले महामारी ल्याइसकेको छ । नेपालको सन्दर्भमा हैजा समय–समयमा देशको विभिन्न भू–भागमा देखिने गरेको छ । तर, वृहतस्तरमा भने सन् २००९ मा जाजरकोट जिल्लामा देखिएको थियो । जहाँ करिब ३० हजार जनामा हैजा देखिएको थियो । जसमध्ये ५ सय जनाले ज्यान गुमाए । त्यसपछि रौतहट जिल्लामा सन् २०१४ सालमा ६ सय जनाभन्दा बढी हैजाका बिरामी भएका थिए ।
कस्ता हुन्छन् हैजाका लक्षण अर्थात हैजा लागेमा के हुन्छ ?
घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । सामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाको लक्षणहरु देखिन थाल्दछ । जसमा लगातार पातलो चौलानी पानी जस्तो दिसायुक्त झाडापखाला लाग्ने, एक्कासि वान्ता हुने, तिर्खा लाग्ने, पेट तथा खुट्टाका मांसपेशी बाउडिने जस्ता लक्षणहरु देखिने गर्छन । र, सामन्यतया पेट दुख्ने र ज्वरो आउने भने हुँदैन ।
लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।
त्यस्तै नाडीमा धड्कन मधुरो हुने, तापक्रम घट्ने , श्वासप्रश्वासको गति बढ्ने, कमजोरी महसुस हुने रिङ्गटा लाग्ने र बिरामी अचेत समेत हुने गर्दछ । शरीरमा पानीको मात्रा कम भई पिसाब बन्द भएर मिर्गौला फेल हुने सम्भावना भई मानिस मृत्युसमेत हुने गर्दछ ।
कतिपय मानिसलाई बिना लक्षण निको हुने गर्छ । त्यस्ता मानिसले अर्को मानिसलाई सार्ने गर्दछन् । जोखिम समूह हैजा जुनसुकै उमेर समूहका मानिसमा पनि हुने गर्दछ । तर पाँच वर्ष उमेरका जोखिम बढी हुन्छ । दूषित पानी, खाना खाने मानिसहरु पनि बढी जोखिममा हुने गर्दछन् । वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कडा लक्षण देखिने गर्दछ ।
रोकथामका उपायहरु के-के छन् ?
हैजाबाट बच्ने उपाय सफा तथा सुरक्षित पानीको अभाव र व्यक्तिगत सरसफाइको कमीले नै फैलिने गरेकोले यसका लागि हामिले वातावरण तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, दिसापिसाब चर्पीमा मात्र गर्ने, चर्पी गरेपछि र खाना खानु अघि साबुनपानीले राम्ररी हात धुने, सागसब्जी तथा फलफूल राम्ररी पखालेर मात्र खाने आदि गर्नाले हैजा संक्रमण हुनबाट बच्न सकिन्छ । समुदायमा पानीको स्रोत साझा हुने र स्रोतमा हैजाको जीवाणु मिसिँदा प्रकोपको रूप लिने गरेको विगतका अनुभवहरूले देखाएको छ ।
पानी राख्ने भाँडो सफा र सधैँ छोपेर राख्ने । सकेसम्म पानी उमालेर पिउने, शहरी क्षेत्रमा धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपानी फिल्टर गरी उमालेर पिउने ।
त्यस्तै काँचो खानेकुरा सकेसम्म नखाने गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाइ खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर खाने ।
बाहिरबाट आउनेबित्तिकै साबुनपानीले हातधुने बानी बसाल्नु पर्छ ।
जथाभावी पानीपुरी खानुपनि हुँदैन । फेहेर पानि र सडकमा बेचिनाले अखाद्य बनाउनुका साथै त्यसमा हैजाको जीवाणु भेटिने सम्भावना पनि रहन्छ । त्यसैले यसतर्फ पनि ध्यान दिन जरूरी छ ।
कस्तो खानेकुरा खाने ?
हैजा भएकाहरुको शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउन चिकित्सकको सुझाव छ ।
बिरामीको चाहनाअनुसार सफा र ताजा खानेकुरा खुवाउनुपर्छ । दाल, दही फलफूलको जुस, केराजस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ । अस्पतालमा लैजान नसकेमा घरमा नै जीवनजल बनाएर खुवाउनुपर्छ । जति पानी बाहिर निस्कन्छ त्यतिकै मात्रामा जीवनजल खुवाउनुपर्छ ।
जीवनजल नपाउने ठाउँमा पाँच गिलास सफा उमालेर चिसो बनाएको पानीमा छ चम्चा चिनी र आधा चम्चा नुन मिसाएर खुवाउनुपर्छ । घरेलु उपचारले पनि निको भएन भने बिरामी बेहोस् होला जस्तो भयो भने, शरीर कमजोर भएमा, पिसाबको मात्रा कम भएमा बिरामीलाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । झाडापखाला लागेपछि जथाभावी औषधि किनेर नखाने चिकित्सकको सुझाव छ ।
कसरी सुरक्षित हुन सकिन्छ ?
सकेसम्म बासी खानेकुरा र फोहोर पानी नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने, त्यस अलावा घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरलाई राम्रोसँग विसर्जन गर्ने, समुदायमा पानीको मुहान सफा भए नभएको बेलाबेलामा जाँच गर्नुपर्छ ।
यसरी पनि गर्न सकिन्छ हैजा लागेमा घरमै उपचार
पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन्छ ।
रोगी बस्ने तथा सुत्ने ठाउँमा लसुन फोकेर राखिदिनाले पनि हैजाका किटाणु नष्ट हुन्छन् ।
रोगीलाई सौँफ तथा अलैँची खानाले पनि लाम मिल्दछ ।
पानीमा कपुर मलाई बारम्बार खानाले पनि उपयुक्त हुन्छ ।
रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।
एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।
काँचो आँपलाई पानीमा उमाली प्याजको रस मिलाउनुहोस् र रोगीको हत्केला तथा तालुमा मालिस गरिदिनुहोस् जसले गर्दा रोगीलाई आराम मिल्दछ ।
जाइफललाई थोरै पानीसँग मिलाई पिसेर निधारमा लेपन गरिदिनुहोस् जसले हैजा ठिक पार्दछ ।
यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- राप्रपाले बिराेध नगरेकाे संविधान दिवस
- आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा
- जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?
- कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा
- खासमा माैद्रिक नीति भनेकाे चाहीँ के हाे र किन महत्वपूर्ण मानिन्छ ?
- माला जप्नुको अर्थ ! के हुन्छ माला जप्दा ?
- वर्षायामसँगै फैलन सक्छन् यी रोगहरु, बच्नुस् यसरी
- वर्षायाम लाग्याे, यसरी बच्नुहाेस्, यी विभिन्न राेगबाट
- सेवा र व्यवस्थापनमा अब्बल प्रमाणित गरिरहेकाे ग्लोबल आइएमई बैंक
- आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन
प्रतिकृया दिनुहोस