स्वास्थ्य

वर्षायामसँगै फैलन सक्छन् यी रोगहरु, बच्नुस् यसरी

वर्षायामको सुरुवातसँगै विभिन्न किसिमका रोगको प्रकोप बढ्छ । पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप बढ्छ । पानीजन्य रोगहरू दूषित पानीको संसर्ग, सेवन र पानीमा हुने अनावश्यक रसायनका कारण लाग्छन् ।

विशेषगरी विभिन्न खाना, पानी तथा कीटजन्य रोगहरू प्रमुख कारण हुने गर्दछन् । यस्ता रोगहरूको प्रकोप बढ्नुको पछाडि विभिन्न कारण रहेका छन् ।

वर्षाको सुरुवातसँगै पानीका स्रोत मानिस तथा जनावरहरूको मलमूत्रबाट दुषित हुने गर्दछन् । सतही पानी (मूलहरू), जमिनको पानी (इनार/ पानी ट्यांकी) वर्षाको भेलको कारण मानिस तथा जनावरहरूको मलमूत्र मिसिएर दुषित हुन पुग्छन् । मानिसले जनावरहरूको मलमूत्र मिसिएको पानी पिउन उपयुक्त हुँदैन । यस्तो पानीको प्रयोग खानको लागि अथवा खाना बनाउनको लागि प्रयोग गरिएमा विभिन्न किसिमका व्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जिवाणु शरीरमा प्रवेश पाउँछन् र प्रतिकूल अवस्थामा फैलिने र रोगहरू फैलाउने गर्दछन् । 

मुसाको पिसाब धानखेतको पानीमा मिसिंदा मानिसमा लेप्टोस्पाइरोसिस रोग लाग्न सक्छ । खोला तथा दहको जमेको दूषित पानीमा पौडी खेल्दा खुला एमिबाको संक्रमण हुन्छ । पानीमा आर्सेनिकको मात्रा उच्च भएमा आर्सेनिकोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

दूषित, बासी, सडेगलेको, झिगा भन्केका र असुरक्षित रूपमा लामो समयसम्म भण्डारण गरिएका खानेकुरा सेवनले ‘एक्युट फूड पोइजनिङ’ पनि हुनसक्छ । तर वर्षायाममा खासगरी दूषित पानीको सेवनले झाडापखाला, आउँ, टाइफाइडको समस्या देखिन्छ ।

वर्षासँगै आउने भेलले मानिस र जनावरका मलमूत्रलाई जमीनमुनि र बाहिरको पानीको स्रोतमा मिसाउनाले पानी दूषित बन्छ । पानीको मुहान नजिकै दिसापिसाब गर्दा, सुरक्षित भण्डारण र आवश्यकता अनुसार निर्मलीकरण नगर्दा पनि पानी दूषित हुन्छ । गर्मी मौसममा पानीको अभाव हुने भएकाले दूषित पानीको सेवन र समस्या बढेको देखिन्छ ।

बासी र असुरक्षित रूपमा भण्डारण गरेका खानेकुरामा विभिन्न खालका जीवाणुको वृद्धि हुन्छ । जीवाणुले बासी र सडेगलेको खानेकुरामा विभिन्न टक्सिन निकाल्छन् । यस्ता खानेकुराको सेवनले ज्वरो, वान्ता (फूड पोइजनिङ) निम्तिन्छ । गर्मी मौसममा विभिन्न विषाणु र जीवाणुको प्रवाह गर्ने झि‌गाको संख्या बढ्छ । झिगाले दिसा, जमीन र फोहोर पानीबाट खानामा विषाणु र जीवाणुको प्रवाह गर्न मद्दत पुर्‍याउँछन् ।

वर्षायामसँगै विभिन्न किसिमका कीटजन्य रोगहरूको प्रकोप बढ्ने गर्दछ। जस्तै: लामखुट्टे, मैइट्स, भुसुना आदिको फस्टाउन पुग्छ। विशेष गरेर लामखुट्टे, भुसुनाहरूको विकासको लागि चाहिने तापक्रम, हुमिडति उत्तम हुन पुग्छ। साथै प्रजनन तथा अण्डा पारी बच्चा बनाउने उत्तम वातावरण बर्खाको पानीले तयार पार्छ। 

त्यसैले लामखुट्टेबाट सर्ने रोगहरू– मलेरिया फिलेरिया जा. एनसेफालाइटिस आदिको प्रकोप बढ्न सक्छ। साथै भुसुनाबाट सर्ने कालाजारको संक्रमण बढ्न सक्छ।  पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले जमेर बस्ने पानीमा बिशेष गरेर बर्खाको अन्तिममा जमेको पानीमा फूल पार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ। यसले डेंगु, चिकेनगुनिया रोगका विषाणु सार्ने काम गर्दछ। यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगहरूको प्रकोप महामारीका रुपमा आउन सक्दछ।

साथै दुषित पानीमा जलक्रिडा गर्दा,  पौडिँदा, काम गर्दा पनि विभिन्न किसिमका परजिबी तथा  ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छन्। जसले ज्वँरो, जन्डिस, मेनिन्जाइटिस जस्ता रोगहरू ल्याउन सक्छन्।

यसरी बच्न सकिन्छ
 
पानी राम्रोसँग उमालेर पिउने । कम्तिमा १ मिनेटसम्म भकभकी उम्लिएको हुनुपर्छ । सधैं खाना बनाउनु भन्दा अगाडि, खाना खानु अगाडि, दिसा/पिसाब तथा अन्य काम गरिसकेपछि साबुन पानीले हात धुने । पानीको मुहान वरिपरि तारजाली लगाउने र पानी दुषित हुन नदिन खुला दिसापिसाब गर्न तथा गाइभैंसी आउन नदिने । सढेगलेका बासी तथा काँचो खाने कुरा, बजारमा माखा भन्कीको खाने कुरा/ क्यान मा राखेको खाना/ माछा राम्ररी स्टोर नभएको भेटिएमा नखाने । खाना पकाएर मात्र खाने । फलफूल सफा पानीले सफा गरेर सेवन गर्ने । सतही तथा जमिनको पानीको शुद्धता सम्बन्धित निकाएमा गएर चेक गराएर मात्र खाना बनाउन वा खान प्रयोग गर्ने । साथै दुषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइ प्रयोग गर्ने । अति नै आवश्यक परेको बेलामा वा ट्रेकिङ वा हाइकिङमा जादा क्लोरिन तब्लेट वा झोलले पानी शुद्ध बनाएर खाने । कीटजन्य रोगबाट बच्न घर वरिपरि सरसफाइ गर्ने । लामखुट्टेले फूल पार्ने ठाउँ तथा पानी जम्मा हुने ठाउँ जस्तै– टाएर, सिसी, बोत्तल आदि हटाउने । लामखुट्टे तथा अन्य कीटबाट जोगिन लामो बाहुलावाला कपडा लगाउने । शरीर ढाक्ने, अनावश्यक साँझ राति बाहिर नजाने । जानै परे लामखुट्टे भगाउने क्रिम लगाउने, झूलको प्रयोग गर्ने, घरभित्र कीटनासक झोल छर्ने, जम्मा भएको पानीमा लामखुट्टेको लार्भा खाने माछा पाल्ने,पानीको स्रोत ढाक्ने । फोहोर पानीमा अनावश्यक जल क्रिडा,  पौडी खेल्ने काम नगर्ने । 

गाउँ सहर डेस्क

तपाईँको मत