पूर्वाधार

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलियो, थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला

काठमाडौं । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र काम सक्ने भन्दै यसको शिलान्यास भएको थियो । कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी ३ मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले काममा छिटो प्रगति भएको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।

‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ लफइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ ।

धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन । सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाा लगानी छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । यो समयभित्र काम नसकिने भएकाले फेरी एक वर्ष समय थप्ने तयारी भएको सडक विभाग स्रोतले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत