गाउँ सहर

नापी कार्यालयका सर्वेक्षक र लेखनदासविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईंसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीसँग घुस रकम लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति राजधानी लेखापढी सेवामा लेखापढीको काम गर्ने नेत्रबहादुर पोखरेल हुन् । दायर मुद्दामा चौलागाईंसँग ५० हजार रुपैयाँ र पोखरेलसँग एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

चौलागाईं र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

अख्तियारको टोलीले सर्वेक्षक चौलागाईं र लेखापढीको काम गर्ने पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा घुस रकम बुझेपछि पोखरेलले चौलागाईंलाई ५० हजार रुपैयाँ बुझाएको खुलेको अख्तियारले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत