अर्थतन्त्र

नेप्से घटेसँग कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार २८.६८ अंकले घटेर बन्द भएकाे पूँजीबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि ११.७८ अंकले घटेको छ। दोहोरो अंकको गिरावटसँगै नेप्से सूचक १९६०.३० बिन्दुमा रोकिएको छ।

आइतबार भएको कारोबारमा जम्मा ६७ कम्पनीका शेयरधनीले कमाएका छन्‌। १७३ कम्पनीका लगानीकर्ता घाटामा गएका छन्‌। ८ कम्पनीको शेयरमूल्य स्थिर छ।

घटेको बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सर्वाधिक कमाएका छन्‌। सो कम्पनीको शेयरमूल्यमा ९.७० प्रतिशतले वृद्धि भएको हो। प्रतिकित्ता शेयरमूल्य ८४० रुपैयाँ पुगेको छ।

अत्यधिक गुमाउनेमा चिर्ख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ता परेका छन्‌। यो कम्पनीको शेयरमूल्यमा ७.४९ प्रतिशतको गिरावट आउँदा प्रतिकित्ता ६१९.८० रुपैयाँमा झरेको छ।

अघिल्लो साताको अन्तिम कारोबार तुलनामा आइतबार कारोबार रकम समेत खुम्चिएको छ।

बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। आइतबार भने २ अर्ब ८ करोड २७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जम्मा ३०९ कम्पनीको कूल ५५ लाख ७४ हजार २०७ कित्ता शेयर कारोबार भएको छ।

आइतबार सोनपुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो।

 

गाउँ सहर संवाददाता

तपाईँको मत