गाउँ सहर

प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो ।

समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ ।

नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।

खेलको सुरुवात देखि नै नेपालले लगातार आक्रमण गरेपनि गोल गर्न ४१ मिनेटसम्म कुर्नुपरेको थियो ।

४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् ।

त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।

जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्‍याएकी छन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ ले तथा दोस्रो खेलमा इराकलाई ५-० ले पारजित गरेको थियो ।

इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।

खेलपछि सावित्राले नेपालले राम्रो खेलेको र अब सेमिफाइनल खेलमा फोकस हुनुपर्ने बताइन् । ‘हामीले राम्रो खेल्यौँ । कोचले पनि यही अनुसार खेल्नुपर्छ भन्नुभयो र मैदानमा पनि हामीले त्यसरी नै खेल्यौँ । सेमिफाइनलमा हाम्रो कठिन म्याच हुनेछ । उनीहरु राम्रो टिम हो र हामी अब त्यही खेलमा केन्द्रित हुनेछौँ ।’

नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत