गाउँ सहर

७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित

पोखरा । पाेखरा  विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायका गरी ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालय परिसर पोखरा–३० खुदी, ढुङ्गेपाटनमा  मङ्लबार अायाेजित  दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।

समारोहमा वरिष्ठ मुटु शल्य चिकित्सक, प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने उल्लेख गरेका छन । उनले विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव व्यक्त गरे ।

राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै गएको भन्दै उनले देशलाई अगुवाई गर्न सक्ने, समाजलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री अशोक राईले नेपाली विश्वविद्यालय, शिक्षालयहरुले नयाँ कुरा खोजी गर्दा आफ्ना संस्कार, परम्परा, दर्शनको अनुसन्धान र प्रयोगमा उचित ध्यान दिन आग्रह गरे ।  विश्वविद्यालयहरुलाई प्रतिष्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने उनले बताए ।

समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले विश्वविद्यालयको अवस्था र भावी योजनामाथि प्रकाश पारेका थिए ।

पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार २०५४ मा स्थापित पोखरा विश्वविद्यालयका चार आंगिक महाविद्यालय छन् । विश्वविद्यालयमा एक सय ४५ स्थायी र ५२ करार शिक्षक र दुई सय १२ कर्मचारी कार्यरत छन् । पोखरा विश्वविद्यालयमा तीन संयुक्त आंगीक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार दुई सय ४० विद्यार्थी अध्ययनरत  छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत