गाउँ सहर

भिजिट भिसा सेटिङमा संलग्न अध्यागमन अधिकृतसहित ४ जना जेल चलान

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो । कारागार चलान हुनेमा अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाल रहेका छन् ।

अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले गीता शाहसँग ५ लाख रुपैयाँ, रविन अर्याल र पदम लामासँग १/१ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सिपी पन्थीले जानकारी दिए।

उनीहरूमाथि नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेको आरोप लागेको छ ।

प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो ।

अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका थिए । २६ मंसिरमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत