खेल

आकाशकाे घातक बलिङ, नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा अफगानिस्तानले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भयो ।अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

एक समय अफगानिस्तान २०.३ ओभरमा ८८.८ को अवस्थामा पुगेको थियो । नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दै १५० रन कटाएका थिए । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।

एक समय ४३–६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले तल्लोक्रममा आक्रामक क्रिकेट खेलेका थिए । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । जाश्मिदले गत डिसेम्बरमा यू१९ एसिया कपमा नेपालविरुद्ध १०६ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए ।

नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।

गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत